महिलाको अश्लिल तस्विर खिचेको आरोपमा पक्राउ परेका सशस्त्रका डिएसपीले प्रहरीलाई झुक्याएर फोन फर्म्याट गरे

Technology Khabar १५ फाल्गुन २०८०, मंगलवार

महिलाको अश्लिल तस्विर खिचेको आरोपमा पक्राउ परेका सशस्त्रका डिएसपीले प्रहरीलाई झुक्याएर फोन फर्म्याट गरे
सांकेतिक तस्विर

काठमाडौं ।

महिलाको अश्लिल तस्विर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका डिएसपी तुलसिंह केसीले प्रहरीलाई झुक्याएर फोन फर्म्याट गरेको पाइएको छ।

महिलाको तस्विर खिच्न प्रयोग गरेको ‘आईफोन १२ प्रोम्याक्स’ प्रहरीको नियन्त्रणमै रहेका बेला केसीले हात पारेर फर्म्याट गरेको भेटिएको हो। उनी विरुद्ध न्यू इभेन्ट पोइन्ट रेष्टुरेन्टमा फागुन ५ गत राति ९ः२० बजेतिर शौचालय गएकी महिलाको अश्लिल तस्विर खिचेको भन्दै जाहेरी परेको थियो।

प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका केसीले ड्युटीमा खटिएका प्रहरीलाई झुक्याएर फोन फर्म्याट गरेको पाइएको हो। प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा समेत सो विषय उल्लेख गरी सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

उक्त प्रतिवेदनकाअनुसार डिएसपी केसीले फागुन ८ गते (मंगलबार) बेलुकी सवा ७ बजे आफ्नो श्रीमतीको सम्पर्क नम्बर निकाल्नु पर्यो भनेर ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक रामबाबु राय यादवलाई भनेका थिए।

सशस्त्र प्रहरी बल नम्बर ४ बाहिनी पोखरामा कार्यरत रहेका डिएसपी भएकाले विश्वास गरी प्रहरीले उनलाई मोबाइल दिएका थिए। तर डिएसपी केसीले सम्पूर्ण डाटा र प्रमाणहरू नष्ट गर्ने मनसायले बदनीयतपूर्वक मोबाइल फर्म्याट गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १५ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया