Technology Khabar १५ फाल्गुन २०८०, मंगलवार
काठमाडौं ।
आफ्नो मानवयुक्त चन्द्रमामा अवतरण गर्ने र न्यू क्रु स्पेसशिप (नयाँ चालक दलको अन्तरिक्ष यान)को नामहरू खुलासा गर्दै चीनले भर्खरै आफ्नो अन्तरिक्ष अन्वेषण प्रयासहरूको बारेमा समाचार साझा गरेको छ।
चीनको लुनार ल्यान्डरको नाम ‘ल्यान्युए’ राखिएको छ र यसको अर्थ ‘चन्द्रमालाई अँगालेको’ हुन्छ। साथै यो नाम १९६५ मा अध्यक्ष माओ त्से तुङको कविताबाट प्रेरित रहेको थप उल्लेख गरिएको छ। नामको यो छनोटले चिनियाँ जनताको सपना र उनीहरूको अन्तरिक्ष अन्वेषण प्रयासहरूप्रति विश्वास देखाउने बताईएको छ।
चन्द्रमामा अवतरण गर्ने र अन्तरिक्षमा नयाँ सिमानाहरू खोज्ने सपना साकार पार्नमा आफ्नो भूमिकालाई सङ्केत गर्दै चालक दलको अन्तरिक्ष यानलाई मेङझौउ वा ड्रीम भेसल नाम दिइएको छ। साथै मेङझोउको दुई ओटा संस्करणहरू हुनेछन्ः एउटा चन्द्रमा मिशनको लागि र अर्को पृथ्वी र तिआङ्गोङ अन्तरिक्ष स्टेशन बीचको यात्राको लागि, जसले वर्तमान शेन्झौउ स्पेसशिपबाट जिम्मेबारी लिनेछ।
ल्यान्युए र मेङझोउ जस्ता यी नामहरू जनताको लगभग २,००० सुझावहरूबाट चयन गरिएको थियो, जसले आफ्नो देशको अन्तरिक्ष अभियानहरूमा चिनियाँ जनताको व्यापक सहभागिता र चासोलाई पनि देखाएको उल्लेख गरिएको छ।
लङ मार्च १० रकेटको साथमा यी अन्तरिक्ष यानहरूको विकास ट्र्याकमा रहेको जनाइएको छ, जसले आफ्नो अन्तरिक्ष अन्वेषण लक्ष्यहरूप्रति चीनको प्रतिबद्धतालाई हाइलाइट गर्दछ।
चीनले सन् २०३० मा चन्द्रमामा आफ्नो पहिलो मानव मिसन पठाउने योजना बनाएको छ। ल्यान्युए ल्यान्डर दुई अन्तरिक्ष यात्री र एक रोभरलाई चन्द्रमामा लैजानको लागि ल्यान्डिङ (अवतरण) र प्रोपल्सन सेक्सन (खण्ड) को साथ डिजाइन गरिएको छ।
त्यसैगरी अन्तरिक्ष यात्राको लागि डिजाइन गरिएको मेङझाउ अन्तरिक्ष यानमा अन्तरिक्ष यात्रीहरूका लागि रि–एन्ट्रि (पुनःप्रवेश) मोड्युलका साथै पावर र प्रोपल्सन सिस्टम्स (प्रणाली) ले सुसज्जित सेवा मोड्युल समावेश गरिएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १५ फाल्गुन २०८०, मंगलवार