एथर ४५० एपेक्स फ्ल्यागशिप इलेक्ट्रिक स्कुटरको उत्पादन सुरु

Technology Khabar १० फाल्गुन २०८०, बिहीबार

काठमाडौं ।

ईभी निर्माता एथर इनर्जीले भर्खरै आफ्नो बहुप्रतिक्षित फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर ४५० एपेक्स पेश गरेको छ। अहिले कम्पनीले यस ईभीको उत्पादन सुरु गरिएको जानकारी दिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

एथर इनर्जीका सह–संस्थापक स्वप्रिल जैनले ४५० एपेक्सको उत्पादन सुरु भएको घोषणा गर्दै यसको डेलिभरी मार्च २०२४ देखि सुरु हुने बताए। एथर इनर्जी १० वर्ष पुरा भएको उपलक्ष्यमा कम्पनीले ४५० एपेक्स लिमिटेड मोडल पेश गरेको हो।

यस स्कुटरको मूल्य एक लाख ८९ हजार भारु (एक्स शोरुम) तोकिएको छ। कम्पनीले २ हजार ५०० भारुमा यसको बुकिङ लिन सुरु गरिरहेको छ।

एथर ४५० एपेक्सलाई अपडेटका साथ पेश गरिएको छ। रिपोर्टका अनुसार ४५० एपेक्समा ४५०एक्सकै समान ३.७ किलोवाट ब्याट्री प्याक प्रयोग गरिएको छ। नयाँ रिजेनरेटिभ ब्रेकिङ सिस्टमका कारण यसको आईडीसी रेञ्ज १५७ किलोमिटरसम्म बढाइएको कम्पनीको दाबी छ।

एथर ४५० एपेक्सको हालको स्कुटर ४५०एक्सको तुलनामा डिजाइनमा कस्मेटिक परिवर्तन र पारदर्शी प्यानलका साथ नयाँ इन्डिया ब्लू पेन्ट स्कीमका साथ आकर्षक लुक दिइएको छ।

नयाँ इलेक्ट्रिक स्कुटरमा एक नयाँ वार्पप्लस राइडिङ मोड पनि समावेश गरिएको छ। यसले ४५०एक्सको वार्प मोडलाई विस्थापित गर्छ। ४५० एपेक्स एथर लाइनअपको सर्वाधिक तीब्र इलेक्ट्रिक स्कुटर हो।

वार्पप्लस ४५०एक्सको तुलनामा ० देखि ४० किलोमिटर प्रति घण्टा गति २.९ सेकेन्डमा लिन सक्ने कम्पनीको दाबी छ। एथर ४५० एपेक्सको टप स्पीड १०० किलोमिटर प्रति घण्टा हुनेछ।

यो इलेक्ट्रिक स्कुटर मल्टी लेभल ब्रेक रिजेनरेसनका साथ पेश गरिएको छ। यसका लागि राइडरले धेरै ब्रेक प्रयोग गर्न आवश्यक पर्दैन। थ्रोटललाई अर्को तर्फ मोडेमा स्कुटर ब्रेक रिजेनरेसन गर्न सुरु गर्नेछ।

४५० एपेक्समा ब्रेकलाई नछुई स्कुटरको गति कम गर्न एक्सेरेटरलाई १५ डिग्री पछाडि मोड्न सकिन्छ। यस फिचर्सलाई कम्पनीले म्याजिक ट्वीस्ट नाम दिइएको छ।

यसका साथै ४५० एपेक्समा ४५०एक्सको तुलनामा ब्याट्री प्याकमा वारेन्टी धेरै पाउन सकिन्छ। ४५० एक्समा ३ वर्ष वा ३० हजार किलोमिटर रहेकोमा नयाँ ४५० एपेक्समा ५ वर्ष र ६० हजार किलोमिटरको ब्याट्री वारेन्टी पाउन सकिन्छ।

प्रकाशित: १० फाल्गुन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया