दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले कार्यभार सम्हाले

Technology Khabar ८ फाल्गुन २०८०, मंगलवार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भूपेन्द्र भण्डारीले कार्यभार सम्हालेका छन्। नवनियुक्त अध्यक्ष भण्डारीले मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा समक्ष पद तथा गोपनीयताको सपथ लिएसँगै कार्यभार सम्हालेका हुन्।

भण्डारीले मंगलबार दूरसञ्चार प्राधिकरणको कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्।

गत फागुन ६ गतेको मन्त्रिपरिषद्ले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।

निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि अध्यक्ष पदमा खुला प्रतिष्पर्धाका लागि आव्हान गरिएको थियो।

प्रतिष्पर्धाका लागि २५ जनाले आवेदन दिएकोमा सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित सिफारिस समितिले भण्डारी, शैलेन्द्र गिरी र नवीन जिसीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले पहिलो नम्बर रहेका भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

पद तथा गोपनीयताको सपथ गराउँदै मन्त्री शर्माले राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्न अध्यक्ष भण्डारीलाई आग्रह गरिन्। अत्यन्त संवेदनशील क्षेत्रको रुपमा रहेको दूरसञ्चार क्षेत्रलाई गुणस्तरीय, सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिंदै उनले त्यसका लागि योजनाबद्ध पहल आवश्यक रहेको बताईन् । मुलुकको आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य रहेको र त्यसका लागि दूरसञ्चार आधारभूत डिजिटल पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री शर्माले चाँडोभन्दा चाँडो देशका सबै भूभागमा दूरसञ्चार सेवा पुर्याउने गरी काम गर्न सुझाव दिईन्।

उनले सुशासनलाई ध्यान दिन पनि आग्रह गरिन। सूचना प्रविधि नयाँ क्षेत्र भएको र यसमा प्रयोग हुने उपकरण तथा प्रणालीको खरिद र जडान प्रक्रियामा अन्य क्षेत्रबाट बढी अनियमिताको गुनासो आउने गरेकाले आगामी दिनमा त्यस्तो स्थिति आउन नदिन प्राधिकरणले विशेष ध्यान दिनुपर्ने उनले स्पष्ट गरिन्।

दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले नेपालको समग्र दूरसञ्चार र सूचना प्रविधि क्षेत्रको गुणात्मक रुपान्तरणमा ध्यान दिनुपर्नेमा पनि उनले जोड दिईन्।

नवनियुक्त अध्यक्ष भण्डारीले राष्ट्रहित र नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। दूरसञ्चार क्षेत्रको बदलिंदो आयाम र आफ्नो दुई दशक लामो सूचना प्रविधि क्षेत्रको अनुभवका आधारमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा योगदान दिने उनले बताए।

नव नियुक्त भण्डारी यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका विज्ञ सल्लाहकारका रुपमा कार्यरत थिए।

चार्टर्ड एकाउन्टेन्ट भण्डारीले यसअघि बुरुण्डी स्थित स्मार्ट टेलिकममा सीईओको रुपमा काम गरेका थिए।

भण्डारीले आगामी ५ वर्ष कार्यकारी अध्यक्षको रुपमा प्राधिकरणलाई नेतृत्व दिनेछन्।

तत्कालिन अध्यक्ष पुरुषोत्तम खनालले गत पुस २४ गते राजीनामा दिएसँगै प्राधिकरणमा अध्यक्षको पद रिक्त रहेको थियो।

*सम्पादन गरिएको।

प्रकाशित: ८ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया