
काठमाडौं ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा काम गर्ने स्वीजरल्याण्डको कम्पनी आईसब्रेक नेपालमा सञ्चालनमा आएको छ। सोमबार कम्पनीले ललितपुरको सानेपामा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।
एआईका माध्यमबाट मानवलाई प्रतिस्थापन गर्ने भन्दा उनीहरुलाई सशक्तिकरण गर्ने कम्पनीको दृष्टिकोण रहेको छ।
कम्पनीले एआईका माध्यमबाट मानव जीवनलाई सहज बनाउने र जीवनमा आई पर्ने विभिन्न समस्याहरुसँग जुझ्न मद्दत गर्ने जनाएको छ।
अनलाइन मार्फत शाखा उद्घाटन कार्यलाई सम्बोधन गर्दै आईसब्रेकका सीईओ डारेन ह्यारिसले आईसब्रेकले संसारमा परिवर्तन भइरहेको प्रविधिमा काम गर्दै आइरहेको बताइन्।
‘ठूला ठूला राज्यहरुको बिचमा बसेर काम गर्दा मानिस र मेसिन लर्निङमा धेरै परिवर्तन भएको पाएका छौं। आगामी दशकमा यो अझै परिवर्तन हुनेछ,’ ह्यारिसले भनिन्, ‘हामी प्रविधि मार्फत विश्वलाई अझै उत्कृष्ट बनाउने अभियानमा छौं।’
कम्पनी मानिसहरु खुसीका साथ बाँच्न पाउनु पर्छ भन्ने अवधारणका साथ अघि बढी रहेको उनले बताइन्। कम्पनीले प्रविधि मार्फत मानवताका लागि काम गरिरहेको उनको दाबी छ।
महिला सशक्तिकरण र समानता कम्पनीको प्रमुख प्राथमिकतामा रहेको छ। कम्पनीले आफ्नो कार्यबलको ६० प्रतिशत महिला नियुक्त गर्नेगरी अघि बढी रहेको पनि उनले जानकारी दिइन्।
कम्पनीका चिफ भिजिनरी अफिसर तथा संस्थापक पीके बेनेटले नेपालीहरु आफ्नो काम प्रति निष्ठावान र वफादार हुने भएकाले कम्पनीको कार्यालयका लागि काठमाडौं छनोट गरिएको बताए।
काम गर्न सहज हुने र बजारमा राम्रो गर्न सकिने आत्मविश्वासका कारण आफ्नो रोजाइमा काठमाडौं परेको बेनेटले जानकारी दिए।
‘नेपालका धेरै जस्तो युवाहरु आफ्नो सुरक्षित भविष्यका लागि विदेश पलायन भइरहेका छन्। मैले यहाँ कुराकानी गरेको कम्पनीका प्रतिनिधिहरुमा एउटा समानता छ,’ बेनेटले भने, ‘उहाँहरुसँग आफ्नै देशमै केही गर्नुपर्छ भन्ने भावना छ।’
नेपालमै बसेर देश विकास गर्नुपर्छ भन्ने उनीहरुको भावनाका कारण काठमाडौंमा कार्यालय खोल्न आफूलाई प्रेरित गरेको उनको भनाइ छ।
‘म मेरो देशबाट १०/१२ हजार किलोमिटर टाढा छु। हाम्रो भाषामा भिन्नता छ,’ उनले भने, ‘तर मैले यहाँ विदेशी जस्तो महशुस गरेको छैन।’

कम्पनीका लागि नेपालका कन्ट्री म्यानेजर राहुल पराजुलीकाअनुसार हाल २० जना कर्मचारी नियुक्त गरेर शाखा कार्यालय सञ्चालनमा ल्याइएको छ। थप ४० कर्मचारी नियुक्त गर्ने प्रक्रिया पनि अघि बढेको उनले जानकारी दिए।
कम्पनीले नेपालमा एक वर्ष भित्रमा २ करोड अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ।
प्रकाशित: ७ फाल्गुन २०८०, सोमबार