Technology Khabar ७ फाल्गुन २०८०, सोमबार
काठमाडौं ।
अमेरिकी स्पेस एजेन्सी नासाले शुक्रबार आफ्नो दोस्रो वर्षदिन लामो सिमुलेटेड मार्स मिसन ‘क्रू हेल्थ एन्ड पर्फर्मेन्स एक्सप्लोरेसन एनालग (सीएचएपीईए २)’ मा सहभागी हुन स्वयंसेवकहरूको लागि आव्हान गरेको छ।
सन् २०२५ को वसन्तमा सुरु हुने मिशनको अवधिको लागि, चयन गरिएका चार चालक दलका सदस्यहरूलाई ह्युस्टनमा १,७००–वर्ग फुटको ३डी–प्रिन्ट गरिएको बासस्थानमा राखिनेछ। नासाले अहिलैदेखि अप्रिल २ तारिख सम्म सीएचएपीईए वेबसाइटमा आवेदनहरू स्वीकार गर्दैछ।
यो सशुल्क हुने भएतापनि नासाले कति सहभागीहरूलाई क्षतिपूर्ति दिइनेछ भनेर सार्वजनिक रूपमा भनेको छैन्।
नासाको जोन्सन स्पेस सेन्टरमा रहेको मार्स ड्युन अल्फा ह्याबिटाट (बासस्थान) लाई कठोर वातावरण र सीमित स्रोतहरू हुने रातो ग्रहमा भविष्यका अन्वेषकहरूको लागि जीवन कस्तो हुन सक्छ भनेर अनुकरण गर्नका लागि डिजाइन गरिएको हो।
त्यहाँ पहिलो सीएचएपीईए मिसनको एक भागको रूपमा हाल त्यहाँ बस्ने र काम गर्ने टोली छ, जुन अब आफ्नो ३७८–दिनको असाइनमेन्टको आधा समयमा रहेको इनग्याजेटले रिपोर्ट गरेको छ।
साथै तिनीहरूको बसाइको समयमा, स्वयंसेवकहरूले अन्य कार्यहरू बीचमा बासस्थान मर्मत र बाली उब्जाउने उल्लेख गरिएको छ। त्यसका साथै वासस्थानमा सिमुलेटेड स्पेसवाकहरूको लागि भनेर १,२०० वर्ग फुट स्यान्डबक्स पनि जोडिएको उल्लेख छ।
आवेदकहरू ३०–५५ वर्षको उमेरको अमेरिकी नागरिक हुनुपर्ने, राम्रोसँग अंग्रेजी बोल्न सक्ने र एसटीईएम क्षेत्रमा मास्टर डिग्री हुनुपर्छ भने साथमा कम्तिमा पनि दुई वर्षको व्यावसायिक अनुभव अनि कम्तिमा एक हजार घण्टा विमान उडान गरेको वा दुई वर्षको एसटीईएम डक्टरेट कार्यक्रममा काम गरेको हुनुपर्नेछ। साथै केहि प्रकारको व्यावसायिक अनुभवले मास्टर डिग्री बिना नै आवेदकहरूलाई योग्य हुन अनुमति पनि दिन सक्ने थप उल्लेख छ।
नासाले कार्यक्रमको लागि योजना बनाएको तीन ओटा मिसनमध्ये सीएचएपीईए २ दोस्रो रहेको र पहिलो सन् २०२३ जुन २५ मानै सुरु भएको रिपोर्टमा भनिएको छ।
प्रकाशित: ७ फाल्गुन २०८०, सोमबार