Technology Khabar २ फाल्गुन २०८०, बुधबार
काठमाडौं ।
नेपालमा सामसङ फोनको राष्ट्रिय वितरक “आईएमएस” र नेपाली बजारमा स्थानीय रूपमा रिफर्बिस गरिएका मोबाइल फोनहरू तयार गर्ने अग्रणी कम्पनी सब्को फोन(SabKo Phone )ले “आईएमएस सब्को फोन एक्सचेन्ज” को सुरुवातका लागि साझेदारीको घोषणा गरेका छन्।
विभिन्न ब्रान्डका मोवाइल प्रयोगकर्ताहरुलाई आफुले प्रयोग गरेको फोन साटेर सामसङ स्मार्टफोनमा अपग्रेड गर्न सजिलो विकल्प प्रदान गर्ने उद्देश्यले यो मोबाइल एक्सचेन्ज सुविधा सुरु गरिएको बताईएको छ।
यो एक्सचेन्ज सुविधा अन्तर्गत ग्राहकले आफुले प्रयोग गरेका जुनसुकै ब्राण्डका मोबाइललाई नयाँ सामसंग स्मार्टफोनसंग साट्न सक्नेछन् ।
आइएमएस सबको फोन एक्सचेन्ज सुविधा अन्तर्गत प्रदान गरिने वेबमा आधारित प्रणालीको प्रयोग गरि ग्राहकहरूले आफुले प्रयोग गरिरहेको फोनको विवरण भरेर, मात्र १ मिनेटमा फोनको मूल्य प्राप्त गरि नयाँ सामसंग स्मार्टफोनमा सजिलै अपग्रेड गर्न सक्नेछन् ।
यस्तो एक्सचेन्ज सुविधा प्राप्त गर्नको लागि ग्राहकले आफुले प्रयोग गरेको मोबाइलको भ्याट बिल र परिचय खुल्ने सरकारी परिचयपत्र अनिवार्य उपलब्ध गराई स्वघोषणा फारम भर्नुपर्नेछ। प्रथम चरणको लागि यो सुविधा हाल सामसंगको आधिकारिक आईएमएस स्मार्ट आउटलेटहरू र काठमाडौंमा रहेका अधिकृत बिक्रेतामा मात्र उपलब्ध गराइएको छ।
सबको फोनका संस्थापक उत्तम काफ्लेले यस सहकार्यप्रति उत्साह व्यक्त गर्दै, आइएमएस र सबको फोन बीचको यस साझेदारीले मोवाइल प्रयोगकर्ताहरुलाई मोबाइल एक्सचेन्ज सहज र छिटो बनाउँदै उचित मूल्य प्रदान गर्ने लक्ष्य राखेको बताए। ’एक पटक प्रयोग गरिएका फोनहरूलाई अपसाइकल गरि पुनः प्रयोग गर्न सके विद्युतीय फोहोरको (ई-वेस्ट) समस्याहरूलाई समेत सम्बोधन गर्न सकिन्छ। हामीले सुरु गरेको यस प्रयासले नेपालमा वातावरण र पुनः प्रयोगप्रति जिम्मेवार र सामाजिक उत्तरदायी उद्यमशीलताको प्रतिनिधित्व गर्नेछ,’ उनले भने।
आईएमएस ग्रुपका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले सबको फोनसँगको सहकार्यले नेपालमा मोबाइल एक्सचेन्जलाई सहज बनाउनेछ भन्नेमा विश्वस्त रहेको बताए। यो सुविधाको कार्यान्वयन पहिलो चरणमा काठमाडौंका आउटलेटहरूमा केन्द्रित हुने र विस्तारै एक्सचेन्ज सुविधा नेपालभर उपलब्ध गराउने योजना रहेको उनले बताए।
सबको फोनको प्रविधिसँग आइएमएसको विशेषज्ञतालाई संयोजन गरेर, आफ्ना ग्राहकहरूलाई प्रयोगमा आइसकेका फोनहरूको उचित मुल्य प्रदान गरि सामसंग स्मार्टफोनमा अपग्रेड गर्न सजिलो र सुविधाजनक बनाउने आइएमएसको योजना रहेको जनाईएको छ।
प्रकाशित: २ फाल्गुन २०८०, बुधबार