Technology Khabar २६ माघ २०८०, शुक्रबार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रशारण विभागले सबै टिभी च्यानल प्रसारण गर्ने कम्पनीहरुलाई फागुन १ गतेभित्र च्यानल प्रशारणमा अनिवार्यरुपमा आलाकार्ट (A La Carte) मूल्य लागू गर्न निर्देशन दिएको छ।
विभागमा दर्ता रहेका २३ टिभी प्रशारण तथा केबुल टिभी सेवा प्रदायकहरुलाई पत्र पठाउँदै आलाकार्ट मूल्य प्रणालीको प्रभावकारी कार्यान्वयनको लागि सम्पूर्ण तयारी गरी २०८० फागुन २ गते भित्रमा सो मूल्य प्रणाली पूर्ण रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो।
यसका साथै सो मूल्य प्रणाली लागू भएको जानकारी विभागमा गराउन समेत भनेको छ। उक्त मितिभित्र आलाकार्ट लागू नभएमा सेवा प्रदायकहरुलाई कारबाहीको समेत चेतावनी दिएको छ।
“सो मितिभित्र A ‘La Carte मूल्य प्रणाली लागु नगरेमा राष्ट्रिय प्रसारण ऐन, २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ।” पत्रमा भनिएको छ।
यसका साथै विभागले कार्यान्वयन गर्नेगरी ९ बुँदे निर्देशन समेत जारी गरेको छ।
जसमा आलाकार्ट मूल्य प्रणालीको कार्यान्वयनको लागि विभागको असोज १५ गतेको पत्रमा उल्लेख भएको र कात्तिक १ गते अगावै ग्राहकबाट उठाइएको अग्रिम सेवा शुल्कको उचित समायोजन हुने गरी शुल्क समायोजन योजना तयार गर्न भनिएको छ।
यस्तै आधिकारिक सिग्नल वितरकहरुसँग मन्त्रालयले गरेको मूल्य प्रणालीको – मापदण्ड बमोजिम सम्झौता गरी सो लागू गर्न भनिएको छ भने आलाकार्ट मूल्य प्रणालीको निर्णय हुनु अगाडि आफूसँग आवद्ध भएका ग्राहकहरुलाई तत्काल बुके तथा च्यानलहरु छनोटको लागि उपलब्ध गराउन समेत निर्देशन दिईएको छ।
यस्तै आलाकार्ट मूल्य प्रणाली सम्बन्धि सम्पूर्ण जानकारी सेवा प्रदायकहरुको सूचना प्रणाली, वेबसाईट, आदिमार्फत आफ्ना सम्पूर्ण सेवाग्राहीलाई उपलब्ध गराउनुका साथै आलाकार्ट मूल्य प्रणाली प्रणालीमा आवद्ध हुनको लागि सेवाग्राहीले गर्नुपर्ने प्राविधिक तथा अन्य प्रक्रियाको आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी सो को जानकारी सेवाग्राहीलाई गराउनुपर्ने भएको छ।
विभागले आलाकार्ट मूल्य प्रणालीमा आवद्ध हुने सेवाग्राहीको संख्या, सेवाग्राही सदस्य रहेका च्यानल तथा बुकेहरुको विवरण, सेवाग्राहीबाट बुके वा च्यानल सब्स्क्रिप्सनको लागि लिइएको दस्तुर आदि स्पष्ट तथा दुरुस्त खुल्ने मासिक विवरण विभागको अनुगमन प्रणालीमा आवद्ध गर्ने पूर्वाधार समेत आवश्यक रुपमा निर्माण गरी सो को प्रभावकारी कार्यान्वयन गर्न सेवा प्रदायकहरुलाई भनेको छ।
यस्तै सबै अपरेटरहरुले हरेक महिना समाप्त भएको सात दिन भित्र राष्ट्रिय प्रसारण नियमावली मा भएको व्यवस्था अनुसार आफ्नो कास (CAS) / एसएमएस (SMS) को प्रतिवेदन विभागमा अनिवार्य उपलब्ध गराउनुपर्ने भएको छ।
यसैगरी आधिकारिक सिग्नल वितरकहरुसँग आलाकार्ट मूल्य प्रणाली भित्र रहने गरी सम्झौता नगरी सो सिग्नल बितरकले आधिकारिकता पाएका विदेशी सःशुल्क च्यानलहरु सेवाग्राहीबीच प्रसारण गर्न नपाईने र त्यस्ता च्यानलहरु बापत सेवाग्राहीसँग शुल्क लिन समेत नपाईने समेत पत्रमा लेखिएको छ।
यस्तै प्रशारण कम्पनीले आफूले सेवाग्राहीलाई उपलब्ध गराउने सम्पूर्ण टेलिभिजन च्यानलहरु तथा सो को विवरण पारदर्शी रुपमा विभागमा रहेको अनुगमन प्रणालीमा विभागले तोकेको प्राविधिक मापदण्ड तथा स्वरुप ( Format) मा उपलब्ध गराउनुपर्ने छ भने यसअघि मन्त्रालय तथा विभागबाट गरिएको आलाकार्ट मूल्य प्रणाली सम्बन्धी निर्देशनहरु पूर्ण रुपमा पालना गर्नुपर्ने समेत उल्लेख छ।

प्रकाशित: २६ माघ २०८०, शुक्रबार