लर्डबुद्ध एजुकेसन फाउण्डेशनले आइटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने

Technology Khabar २७ माघ २०८०, शनिबार

काठमाडौं ।

सूचना प्रविधि सम्बन्धी मुलुकको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउण्डेशन एलबीईएफले आइटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

कम्प्युटर एशोसिएसन अफ नेपाल क्यान महासङ्घसँगको सहकार्यमा फाउण्डेशनले मुलुकभरबाट छानिएका ४९ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन लागेको हो। छात्रवृत्ति सम्बन्धी सम्झौता पत्रमा एलबीईएफका अध्यक्ष पंकज जालान र क्यान महासङ्घका अध्यक्ष रणजीत पोदारले हस्ताक्षर गरे।

सातै प्रदेशमा आर्थिक र सामाजिक रूपले पछाडि परेका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति उपलब्ध गराउन लागिएको हो। लर्डबुद्ध एजुकेशन फाउण्डेशनमा सूचना प्रविधि सम्बन्धी विषयमा स्नातक र स्नातकोत्तर तह सम्मको अध्ययनका लागि ४९ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गर्ने क्यान महासङ्घसँग भएको सहमतिमा उल्लेख छ।

आर्थिक र सामाजिक दृष्टिकोणले पछाडि परेका विद्यार्थीहरूलाई मेरिटका आधारमा छनोट गर्ने कार्य भने क्यान महासङ्घले गर्नेछ। सातै प्रदेशबाट ७र७ जना विद्यार्थीहरू क्यान महासङ्घको स्वतन्त्र छानबिन समितिले छनोट गर्ने सहमतिमा उल्लेख छ।

आइटी विद्यार्थी छात्रवृत्ति अन्तर्गत वार्षिक रूपमा खर्च हुने २ करोड ८३ हजार रुपैयाँ बराबरको लागत रकम लर्डबुद्ध एजुकेसन फाउण्डेशनले बेहोर्ने सहमतिमा उल्लेख छ।

फाउण्डेशनले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउन लागेको हो।

सूचना प्रविधि सम्बन्धी मुलुकको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेसनले प्रत्येक वर्ष विभिन्न विषयमा विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। सो कलेजले पढ्दै कमाउँदै नीतिलाई समेत अङ्गीकार गर्दै आएको छ।

प्रकाशित: २७ माघ २०८०, शनिबार

तपाइको प्रतिक्रिया