Technology Khabar २३ माघ २०८०, मंगलवार
काठमाडौं ।
अप्ठ्यारोमा परेका व्यक्तिले मोबाइल वा टेलिफोनबाट सूचना पठाएपछि सो सूचना केन्द्रीय प्रणालीमा पुग्ने र आवश्यक आपत्कालीन सेवा लिन सक्नेगरी एकीकृत प्रणाली विकास गरिने भएको छ।
गृह मन्त्रालयका अनुसार सो प्रणाली अन्तर्गत एम्बुलेन्स, दमकल, प्रहरी सेवा प्रारम्भिक स्वास्थ्य जस्ता सेबा एकीकृत रूपमा उपलब्ध गराइने छ।
तत्कालका लागि भने एम्बुलेन्स, दमकल र प्रहरी से बा समावेश गरिने छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सोमबार गृह मन्त्रालयमा बसेको सरोकारबालाको बैठकले आपत्कालीन सहायता सेवा प्रवाहका सम्बन्धमा १५ दिन भित्र अवधारणापत्र र कार्ययोजना पेस गर्न कार्यदल गठन गरेको छ।
विपत् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा गठित ११ सदस्ययीय कार्यदलमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरीका एक एक र नेपाल प्रहरीका दुई जना प्रतिनिधि तथा सूचना तथा सञ्चारबिज्ञ विजय गौतम छन्।
अत्यावश्यक सहायता सेवाका लागि हाल नेपाल प्रहरीको १०० दमकलको १०१, एम्बुलेन्सको १०२ र ट्राफिक प्रहरीको १०३ नम्बर प्रयोगमा छन्।
तर नयाँ सेवा सुरु भएपछि सबै नागरिकले एउटै नम्बर प्रयोग गरेर आफूलाई परेको समस्या केन्द्रीय प्रणालीमा पठाउन सक्नेछन्। केन्द्रीय सूचना प्रणालीले प्राप्त सूचनालाई तत्कालै सम्बन्धित निकायमा पठाउने छ।
आपत्कालीन सेवा प्रबाहका लागि विभिन्न उपप्रणालीसमेत प्रयोगमा ल्याइने छ। गोरखापत्रबाट
प्रकाशित: २३ माघ २०८०, मंगलवार