‘एलएमसी अलर्ट’ मोवाइल एप सार्वजनिक

  • Technology Khabar | १९ माघ २०८०, शुक्रबार
‘एलएमसी अलर्ट’ मोवाइल एप सार्वजनिक
ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जन महानगरभित्रका नागरिकहरुका गुनासो, समस्या तथा विपद् सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले बनाइएको "एलएमसी अलर्ट" माेवाइल एप सार्वजनिक गर्न बिहिबार आयाेजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै । तस्बिरः माधवप्रसाद घिमिरे / रासस

काठमाडौं ।

ललितपुर महानगरपालिकाले ‘एलएमसी अलर्ट’ मोवाइल एप सार्वजनिक गरेको छ । महानगरका नागरिकका तथा विपद सम्बन्धि समस्या समाधान गर्ने उद्देश्यले उक्त ‘एप’को व्यवस्था गरिएको हो।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहिबार यहाँ आयोजित एक कार्यक्रमबीच ‘एलएमसी अलर्ट’ एप सार्वजनिक गरेका हुन्।

महानगरले नागरिकका समस्या तत्कालै समाधान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको उक्त मोवाइल एप्लिकेसनमा अनलाइन तथा अफलाइन माध्यमबाट आफ्ना गुनासा तथा समस्या दर्ता गर्न सक्नेछन्। गुनासा तथा समस्या दर्ता गर्ने बित्तिकै महानगरको ‘प्रहरी कन्ट्रोल रुम’मा साइरन बज्नेछ।

लगत्तै समस्या अनुसार नगरप्रहरी, दमकल र एम्बुलेन्स परिचालन गरिनेछ। घटनास्थलमा पुगेर नागरिकको सेवा गर्ने अभिप्रायले एप तयार गरिएको प्रमुख महर्जनले बताए। एपमा नागरिकले २१ विषयका समस्या र गुनासा पठाउन मिल्ने छ।

“स्मार्ट सिटी बनाउन गर्नुपर्ने काममध्येको यो एउटा हो”, उनले भने। यसका लागि चार स्थानमा विपद व्यवस्थापन शाखा सञ्चालन गरिने प्रमुख महर्जनले जानकारी दिए।

एप सार्वजनिक कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले एपको माध्यमबाट नागरिकलाई सेवा प्राप्त गर्न सहज हुने बताए।

नगरप्रहरी प्रमुख सिताराम हाछेथुले विपद्को समयमा नागरिकले सहजै र छिटो सेवा प्राप्त गर्नुका साथै जनधनको क्षति रोक्न एप उपयोगी हुने विश्वास व्यक्त गरे। रासस

प्रकाशित: १९ माघ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार