सामाजिक संजाल सूचीकृत हुनुपर्ने प्रावधान आएसँगै नेपालमा सूचीकृत हुन स्न्यापच्याटको चासो

Technology Khabar १७ माघ २०८०, बुधबार

काठमाडौं ।

मेसेजिङ्ग तथा सामाजिक संजाल एप स्न्यापच्याटले नेपालमा सूचीकृत हुन चासो व्यक्त गरेको छ। सरकारले सामाजिक संजालहरुलाई नेपालभित्रै दर्ता गर्नुपर्ने प्रावधान निर्देशिकामार्फत ल्याएसँगै स्न्यापच्याटले पनि चासो देखाएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाले स्न्यापच्याटलगायत केही सामाजिक सञ्जाल प्लेटफर्महरुले नेपालमा सूचीकृत हुन चासो व्यक्त गरेको टेक्नोलोजीखबरलाई जानकारी दिए।

‘स्न्यापच्याट लगायत केही सामाजिक सञ्जाल प्लेटफर्मले नेपालमा सूचीकृत हुन चासो व्यक्त गरेका छन्। ती सामाजिक सञ्जालका प्रतिनिधिहरु सूचीकृत हुन मन्त्रालयको सम्पर्कमा आइरहनु भएको छ,’ सापकोटाले भने, ‘सूचीकृत हुनका लागि अझै केही समय बाँकी छ।’

हालसम्म कुनैपनि सामाजिक सञ्जाल प्लेटफर्म मन्त्रालयमा सूचीकृत भने भइसकेका छैनन्।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सरकारले जारी गरेको निर्देशिकाअनुसार नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल मन्त्रालयमा सूचीकरण हुनु पर्ने प्रावधान छ।

गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका, २०८० नेपाल राजपत्रमा प्रकाशित भएको थियो। निर्देशिकाको दफा ३ मा दर्ताको बारेमा लेखिएको छ, ‘यो निर्देशिका प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म यो निर्देशिका प्रारम्भ भएको मितिले तीन महिनाभित्रमा मन्त्रालयमा सूचीकृत हुनु पर्नेछ।’

निर्देशिकामा उल्लेख गरिए अनुसार नेपालमा सञ्जालमा रहेका सामाजिक सञ्जालहरु फागुन ११ गते भित्र मन्त्रालयमा सूचीकृत भइसक्नु पर्नेछ। उक्त मिति भित्रमा सामाजिक सञ्जाल प्लेटफर्म सूचीकृत नभएमा मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने उल्लेख छ।

प्रकाशित: १७ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया