Technology Khabar १४ माघ २०८०, आईतवार
काठमाडौं ।
मोबाइल फोन हाम्रो जीवनको सबैभन्दा ठूलो आवश्यकता भएको छ। अब कलका लागि मात्र फोन चाहिने नभई, अध्ययन, सामाजिक सञ्जाल, मनोरञ्जन, दैनिक समाचार, सबै कुरा फोनमा हुन थालेको छ। यस्तै टिकट बुकिङ, क्यूआर कोड स्क्यानिङ देखि राइड शेयरिङ्ग जस्ता काम पनि फोनबाटै भइरहेको छ।
त्यसोभए के तपाईं आफ्नो फोनबाट टाढा रहन सक्नुहुन्छ, त्यो पनि एक महिनाको लागि। यदि तपाईंले यो चुनौती स्वीकार गर्नुभयो भने १० हजार डलर अर्थात लगभग १३ लाख रुपैयाँ जित्ने मौका छ।
न्यूयोर्क स्थित आइसल्याण्डिक योगर्ट ब्राण्ड ‘सिग्गी’ ले अमेरिकी मानिसहरुका लागि अनौठो प्रतियोगिता आयोजना गरेको छ। जसमा प्रतियोगीहरूले एक महिनासम्म फोनलाई आफ्नो जीवनबाट टाढा राख्नुपर्नेछ। १० भाग्यशाली विजेताले १० हजार डलर अर्थात करिब १३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउने कम्पनीले जनाएको छ।
सिग्गी (SIGGI) ले यस प्रतियोगिताको नाम ‘डिजिटल डिटक्स प्रोग्राम’ राखेको छ। यसमा सहभागी व्यक्तिले आफ्नो स्मार्टफोन वा फोनबाट एक महिना टाढा बस्नुपर्नेछ। यदि उनीहरूले यो गर्न सक्षम भएमा १० हजार डलर पुरस्कार जित्ने मौका पाउनेछन्।
कम्पनीले यस प्रतियोगितामार्फत सर्वसाधारणलाई साझा संसारसँग पुनः जोडिने अवसर प्रदान गरेको जनाएको छ। यसमा सहभागी हुने जुनसुकै प्रतियोगीले आफ्नो फोन बक्समा जम्मा गर्नुपर्नेछ र एक महिनासम्म स्मार्टफोन बिना दिन बिताउनु पर्नेछ।
यद्यपि, प्रतियोगीहरूसँग कुनै पनि आपतकालीन अवस्थामा सिम कार्ड र फोन हुनेछ। आपतकालीन अवस्थामा मात्र प्रयोग गर्न सकिन्छ। कम्पनीले मानिसहरूलाई रक्सीको लत छाड्न नभई स्मार्टफोनको लतबाट टाढा रहन भनेको छ।
यस प्रतियोगितामा सहभागी हुन चाहनेले जनवरी ३१ तारिखसम्म मौका पाउनेछन् । यसको लागि सिग्गीको वेबसाइटबाट आवेदन दिन सकिन्छ। तर यो प्रतियोगिता अमेरिका र अमेरिकीहरुका लागि मात्र आयोजना हुने बताईएको छ।
प्रकाशित: १४ माघ २०८०, आईतवार