शैक्षिक व्यवस्थापन सुधार गर्न विद्यालयमा ‘सिसी क्यामरा’ जडान

  • Technology Khabar | १२ माघ २०८०, शुक्रबार
शैक्षिक व्यवस्थापन सुधार गर्न विद्यालयमा ‘सिसी क्यामरा’ जडान
सांकेतिक तस्बिर।

काठमाडौं ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा नयाँ सिसी क्यामरा जडान गर्न सुरुआत गरेको छ।साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा पहिलो चरणमा २६ सिसी क्यामरा जडान गरिएको हो।

विद्यालय परिसर, कार्यालय, कक्षा कोठालगायत निगरानी गर्न सकिने गरी सिसी क्यामरा जडान गरिएको विद्यालयले जनाएको छ।

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार सङ्घीय सरकार नमुना विद्यालय विकास कार्यक्रमको शैक्षिक गुणस्तर सुधारअन्तर्गत नारायणी माविमा सिसी क्यामेरा जडान गरिएको हो। अध्यक्ष बनेमका अनुसार सो विद्यालयमा २६ ओटा नयाँ सिसी क्यामरा जडान गरिएको छ भने ११ ओटा पुरानो क्यामरालाई पनि मर्मत गरी सञ्चालन गरिएका छन्।

शैक्षिक स्तर खस्किदै गएको अवस्थालाई दृष्टिगत गरी शिक्षा क्षेत्रलाई अनुशासित, मर्यादित तथा व्यवस्थित शैक्षिक बातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षासहित विद्यालयमा सिसी क्यामरा जडान गरिएको बताइएको छ।

यस्तै विद्यालयमा शिक्षकको विद्युतीय हाजिरीको सुरुआत गरिएको उनले जानकारी दिए।

एक थान स्मार्ट बोर्ड पनि जडान गरिएको विद्यालयले जानकारी दिएको छ।

त्यस्तै गाउँपालिकाले छुट्टै नमुना विद्यालय विकास कार्यक्रम लागु गरी छनोट भएको मैवाखोला माध्यमिक विद्यालयमा पनि चालु आवभित्रै सिसी क्यामरा जडान गर्ने तयारी गरिएको बताईएको छ।

पालिकाभित्रका अन्य माध्यमिक विद्यालयमा पनि क्रमस इन्टरनेट सेवा विस्तार गरी विद्यालय विकास कार्यक्रम लागु गर्दै जाने गाउँपालिकाले जनाएको छ।

प्रकाशित: १२ माघ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...