
काठमाडौं ।
थाहा नगरपालिकाको चितलांगमा अवस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा एडुरोम सेवा शुरुवात गरिएको छ। यो सेवालाई नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरईएन) को प्राविधिक सहयोगमा सुरुवात गरिएको हो।
यससँगै एडुरोममा जोडिएका सङ्घसंस्थाका प्रतिनिधिहरू मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पुग्दा सुरक्षित इन्टरनेटमा सजिलै पहुँच पाउन सक्ने भएका छन्।
संस्थाकाअनुसार र्याडियस सर्भरको मार्फत प्रयोगकर्ताको प्रमाणीकरण गरिने हुँदा इडुरोम अन्य वाईफाईको तुलनामा अधिक सुरक्षित मानिन्छ। साथै अनुसन्धानकर्ताहरू एडुरोममा आबद्ध देश तथा विदेशमा रहेको अर्को शैक्षिक तथा अनुसन्धान संस्था पुग्दा त्यहाँ समेत निःशुल्क इन्टरनेटमा जोडिन सक्ने छन्।
एडुरोमको प्रयोगबाट विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान सम्बन्धी संस्था तथा उच्च शिक्षामा संलग्न शिक्षक तथा विद्यार्थीहरू एक संस्थाबाट अर्को संस्थामा जाँदा आफ्नो शैक्षिक संस्थाको युजरनेम र पासवर्डबाट इन्टरनेटमा जोडिन सक्छन् । हाल ११० भन्दा बढी देशको सङ्घसंस्थाहरूमा एडुरोम सञ्चालनमा आइसकेको छ । इडियुरोम अनुसन्धान र शैक्षिक सङ्घसंस्थाका व्यक्तिलाई विश्वका अन्य सङ्घसंस्थामा पुग्दा सहजै नेटवर्क पहुँच उपलब्ध गराउने विश्वव्यापी सेवा हो।
नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क, राष्ट्रिय रोमिङ अपरेटरको रूपमा, विभिन्न शैक्षिक संस्था, रिसर्च इन्स्टिच्यूसनहरु र अस्पतालहरुमा एडुरोम सेवालाई निशुल्क जडान गर्न अभिप्रेरित गरिरहेको जनाएको छ। हाल यसमा २७ ओटा सङ्घसंस्था यस सञ्जालमा आबद्द भएका छन्।
प्रकाशित: ७ माघ २०८०, आईतवार