
काठमाडौं ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले सुदूरपश्चिम प्रदेशमा जडीबुटी अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान गर्ने भएको छ।
नास्टका सचिव वैज्ञानिक डा. रवीन्द्रप्रसाद ढकालले सुदूरपश्चिम प्रदेशमा बहुमूल्य जडीबुटी रहेकाले अनुसन्धान केन्द्र स्थापना गरिएको जानकारी दिए। नास्टका गतिविधि प्रदेश र जिल्ला तहमा पुर्याउन सञ्चारकर्मीलाई विज्ञान लेखन तालिम दिन डा. ढकाल बैतडी पुगेका छन्।
नास्टका सचिव वैज्ञानिक डा. रवीन्द्रप्रसाद ढकालले सुदूरपश्चिम प्रदेशमा जडीबुटी अनुसन्धान केन्द्र स्थापना भएकाले बैतडीलगायत सुदूरपश्चिम प्रदेश र देशका सबै प्रदेशमा पाइने जडीबुटीको सुदूरपश्चिममै अनुसन्धान हुने स्पष्ट पारे। उनले सात ओटै प्रदेशको विशेषता अनुसार नास्टको कार्यालय स्थापना गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा जडीबुटी अनुसन्धान केन्द्र स्थापना भएको बताए। उनले नास्टको कञ्चनपुर कार्यालयका लागि वैज्ञानिक र आवश्यक जनशक्ति पदपूर्ति गर्न लागिएको जानकारी दिए।
उनले भने, “जडीबुटी अनुसन्धानका लागि जनशक्ति व्यवस्थापनाको काम भइरहेको छ । अब बैतडीदेखि इलामसम्मका जडीबुटी एकै ठाउँमा ल्याएर विस्तृत अनुसन्धान गर्छौं ।”
उनले नेपाली वैज्ञानिकले निर्माण गरेको नानो स्याटेलाइटपछि अन्तरिक्षमा मुनाल नामको दोस्रो स्याटेलाइट प्रक्षेपण गर्ने तयारी भइरहेकोसमेत बताए। उनले आउँदो एक महिनाभित्रै मुनाल नामको दोस्रो स्याटेलाइट प्रक्षेपण गर्ने तयारी भइरहेको जानकारी दिए। गोरखापत्रबाट
प्रकाशित: ७ माघ २०८०, आईतवार