
काठमाडौं ।
यातायात व्यवस्था कार्यालय खुर्कोट सिन्धुलीले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण सुरु गरेको छ।
उक्त कार्यालयले २०७९ साल असोज ४ देखि सबारीतर्फको सबै सेवा प्रबाह गर्दै आएकोमा बिहीबारदेखि सबारीचालक अनुमतिपत्र इडिएलतर्फ सवारीचालक अनुमतिपत्रको नवीकरण सुरु गरेको जनाएको छ।
कार्यालय प्रमुख शिबकुमार निरौलाका अनुसार माघको तेस्रो हप्तादेखि खुर्कोटबाट नै मोटरसाइकल, स्कुटर, कार, टेम्पो, अटोरिक्सा र ट्याक्टरको सबारीचालक अनुमतिपत्र जारी गर्नका लागि नयाँ तथा वर्ग थपको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षासमेत सञ्चालन गर्ने तयारी भइरहेको छ।
“तत्काल ठूला सवारीसाधनको लाइसेन्स जारी गर्न उक्त परीक्षा लिने व्यवस्था भने भइसकेको छैन,” उनले भने, “यातायात व्यबस्था कार्यालयबाट सेवा लिने सेवाग्राही भने बढिरहेका छन्। दैनिक पाँच लाख रुपियाँसम्म राजस्व सङ्कलन हुन थालेको छ।”
खुर्कोटमा उक्त कार्यालय स्थापना २०७० सालमा भएको थियो।
खासगरी दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ जिल्लालाई लक्षित गरी खुर्कोटमा उक्त कार्यालय स्थापना गरिएको कार्यालय प्रमुख निरौलाले सुनाए। यातायात ब्यबस्था कार्यालय सिन्धुली जिल्लाको खुर्कोटमा स्थापना भएसँगै लाइसेन्स नवीकरण गर्न बर्दीबास, जनकपुर र राजधानी काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको सेवाग्राही बताउँछन्।
यता खुर्कोटबाटै साना सवारीसाधनको लाइसेन्स नवीकरण सुरु भएपछि सवारीचालक खुसी भएका छन्। कमलामाई नगरपालिका-४ निवासी सवारीचालक (टेम्पो) सन्तोष देवकोटा सुर्कोटबाटै लाइसेन्स नवीकरणको काम सुरु भएपछि धेरै सवारीचालकले सुबिधा पाएको बताउँछन्।
“नत्र लाइसेन्स नवीकरण गर्न बटमास र जनकपुर जानु पर्दथ्यो,” उनले भने, “भनेको बेलामा काम पनि हुँदैनथ्यो। काम लिनलाई पैसा खुबाएर दले लगाउनु पर्दथ्यो कुरै नमिल्ने।” गोरखापत्रबाट
प्रकाशित: ७ माघ २०८०, आईतवार