सन् २०२५ मा इन्टरनेट समाप्त हुन्छ? सामाजिक सञ्जालमा भईरहेको ‘इन्टरनेट एपोक्यालिप्स’को चर्चा, के हो? जान्नुहोस्

Technology Khabar ५ माघ २०८०, शुक्रबार

काठमाडौं ।

के सन् २०२५ मा इन्टरनेटको अन्त्य हुन्छ ? सामाजिक सञ्जालमा ‘इन्टरनेट एपोक्यालिप्स’ अर्थात ‘इन्टरनेटको सर्वनाश’ भन्ने शब्दको प्रयोगलाई लिएर केही समयदेखि यस्ता चर्चा चलिरहेका छन्।यसका साथै ‘सोलर म्याक्सिमम’ मा पनि छलफल भइरहेको छ।

‘सोलर म्याक्सिमम’ शब्द सूर्यको सन्दर्भमा गत वर्षदेखि नै चर्चामा छ। ‘सोलर म्याक्सिमम’ त्यो अवधि हो जब सूर्य अत्यन्तै ‘उग्र’ हुन्छ। यसमा सनस्पटहरू देखा पर्छन्, जसबाट कोरोनल मास इजेक्शन (सीएमई) र सोलार फ्लेयरहरू अर्थात सौर्य ज्वारभाटाहरु निस्कन्छन्। तिनीहरूले पृथ्वीमा सौर्य आँधीहरू ल्याउँछन्।

यो प्रवृत्ति सन् २०२५ मा आफ्नो चरम सीमामा पुग्न गइरहेको खगोल अनुसन्धानकर्ताहरुले बताएका छन्। सन् २०२५ मा सोलार म्याक्सिमम उचाइमा पुग्दा पृथ्वीमा ‘इन्टरनेट एपोक्यालिप्स (Internet Apocalypse)’को अवस्था आउने बताइएको छ।

सोशल मिडियामा पहिले नै अफवाहहरू छन् कि सन् २०२५ मा सौर्य आँधीले विश्वव्यापी इन्टरनेट सेवा बन्द हुन सक्छ।

वासिङ्टन पोस्टको रिपोर्टकाअनुसार अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यस्तो सम्भावनाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

तर, इन्टरनेटको अन्त्य भयो भने सधैं अनलाइन हुनेहरूले के गर्ने भन्ने विषयमा धेरै चर्चा चलिरहेको छ ? समाचार रिपोर्टमा भनिएको छ कि त्यस्ता चिन्ताहरू पूर्णतया काल्पनिक भने होइनन्। त्यसोभए के इन्टरनेट साँच्चै २०२५ मा समाप्त हुन सक्छ?

रिपोर्टका अनुसार शक्तिशाली सौर्य आँधीले हाम्रो ग्रहमा प्रहार गर्न सक्छ, तर जतिबेलादेखि संसार ग्लोबल भिलेज बनेको छ, अर्थात् यो एक आपसमा जोडिएको छ, त्यस्तो सौर्य घटना देखेको छैन। अन्तिम पटक सौर्य गतिविधिका कारण क्यारिङटन घटना सन् १८५९ मा भएको थियो। त्यसपछि टेलिग्राफ लाइनहरूमा स्पार्किङ भयो र बिजुली अपरेटरहरू स्तब्ध भएका थिए। यद्यपि त्यतिबेला इन्टरनेट थिएन । सन् १९८९ मा पनि एक सौर्य आँधीले क्यानाडामा पावर ग्रिडहरू केही घण्टाको लागि अवरुद्ध बनाएको थियो।

वाशिंगटन पोस्टको रिपोर्टले क्यालिफोर्निया विश्वविद्यालयका कम्प्युटर विज्ञानकी प्राध्यापक संगीता अब्दु ज्योतिलाई उद्धृत गर्दै भनेको छ, “हामीले अहिलेसम्म यस्तो सौर्य आँधीको सामना गरेका छैनौं। हामीलाई थाहा छैन हाम्रो पूर्वाधारले कस्तो प्रतिक्रिया दिनेछ।” यसमा, उनको एउटा शोधपत्रले ‘इन्टरनेट एपोक्यालिप्स’ शब्दलाई लोकप्रिय बनाउन भूमिका खेलेको छ।

तीव्र सौर्य आँधीका कारण समुद्रमुनि सञ्चार केबलको पूर्वाधारमा ठूलो असर पर्न सक्ने संगीता ज्योतिले बताइन्। यसले लामो दूरीको इन्टरनेट कनेक्सनमा बाधा पुर्याउन सक्छ। यस्तो आउटेज धेरै महिनासम्म रहन सक्छ।

यदि यस्तो भयो भने अमेरिकामा मात्रै एक दिनमा ११ अर्ब डलरभन्दा बढीको आर्थिक असर पर्ने अनुमान गरिएको छ।

प्रकाशित: ५ माघ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया