
काठमाडौं ।
करिब ५० वर्षपछि अमेरिकाबाट चन्द्रमामा चन्द्रयान प्रक्षेपण गरिएको थियो तर बीचमै समस्या आएपछि यो मिसन असफल भएको छ। अब अमेरिकी मून ल्यान्डर पृथ्वीतर्फ फर्किने कुरा बाहिर आएको छ।
यदि ल्यान्डर जनसंख्या भएको क्षेत्रमा खस्यो भने यसले नोक्सान पुर्याउन सक्छ। तर, ल्यान्डर पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेबित्तिकै जल्ने वैज्ञानिकहरूको अनुमान छ। यो जानकारी मिसनसँग सम्बन्धित कम्पनी एस्ट्रोबोटिकबाट आएको हो।
गत हप्ताको सुरुमा अमेरिकाले चन्द्रमामा अवतरणका लागि ऐतिहासिक उडान गरेको थियो। युनाइटेड लन्च एलायन्स (यूएलए) नामक निजी निर्माताको भोल्कन सेन्टौर रकेटको सहयोगमा नासाको पेरेग्रीन १ मून ल्यान्डर कक्षामा पठाइएको थियो। यो ५० वर्षपछि अमेरिकी अन्तरिक्ष एजेन्सीले आफ्नो एउटा मिसन चन्द्रमामा अवतरण गर्न पठाएको थियो।
मिशन आयोजकहरूले भनेअनुसार एस्ट्रोबोटिकले प्रक्षेपणको केही घण्टा पछि खराबीको रिपोर्ट गर्न थाल्यो। ल्यान्डरबाट लगातार इन्धन चुहिरहेको थियो, जसका कारण ल्यान्डर चन्द्रमामा पुग्ने सम्भावना समाप्त भएको थियो।
अब कम्पनीले एक पोष्टमा अन्तरिक्ष यान पृथ्वीतर्फ फर्किरहेको बताएको छ। यो पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेबित्तिकै जल्ने सम्भावना छ।वैज्ञानिकहरूको टोलीले यो अन्तरिक्ष यानमाथि नजर राखिरहेको छ। हाल यो पृथ्वीबाट करिब ४ लाख किलोमिटर टाढा छ।
यस मिसनका लागि नासाले १० करोड डलर खर्च गरेको थियो। पेरेग्रिन १ चन्द्र ल्यान्डरमार्फत, नासाले चन्द्रमाको सतहको संरचना र अवतरण साइटको वायुमण्डलमा भएको विकिरणको बारेमा जानकारी सङ्कलन गर्न चाहन्छ। निजी कम्पनीले चन्द्रमामा अवतरण गर्ने प्रयास असफल भएको यो पहिलो पटक भने होइन।
सबैभन्दा पहिले, अप्रिल २०१९ मा, इजराइलको बियरिश ल्यान्डर चन्द्रमाको सतहमा दुर्घटनाग्रस्त भएको थियो। यस्तै गत वर्ष जापानी मून ल्याण्डर पनि अवतरणको समयमा दूर्घटनामा परेको थियो।
प्रकाशित: ४ माघ २०८०, बिहीबार