सफ्टवेयर टेक्नोलोजी पढ्न क्यानडा गएका भैरहवाका एक विद्यार्थीलाई एनआरएनएको पहलमा उद्धार

Technology Khabar ३ माघ २०८०, बुधबार

सफ्टवेयर टेक्नोलोजी पढ्न क्यानडा गएका भैरहवाका एक विद्यार्थीलाई एनआरएनएको पहलमा उद्धार
एनआरएनए क्यानडाका सदस्य कमल ज्ञवालीको साथमा साहिल श्रेष्ठ। तस्विरः शिशिर सिंखडा, क्यानडा

काठमाडौं ।

पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरि नेपाल पठाइएको छ। सिद्दार्थनगर नगरपालिका वडा नं.८, बुद्धपथ, भैरहवाका २३ बर्षिय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरि नेपाल पठाइएको हो।

पढ्न गएका श्रेष्ठले पढाईको अतिरिक्त आफुले सोचे जस्तो काम नपाएपछि डिप्रेसनमा पर्दै गएका थिए। करिब १ बर्ष अगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आएका श्रेष्ठ डिप्रेसनमा पर्दै गएको उनिसँगै कोठामा बस्ने साथी सागर मानन्धरले जानकारी दिए।

शुरूवातमा उनको व्यवहार राम्रो भएपनि पछि उनी डिप्रेसनमा पर्दै गएको उनले बताए।

उनले कोठा भाडासमेत तिर्न नसकेर समस्यामा परेको थाहा पाएसँगै एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार दिउँसो ४ बजे श्रेष्ठको उद्दार गरेका थिए।

एनआरएनए क्यानडाका कार्य समिति सदस्य ज्ञवालीले नेपालमा श्रेष्ठको परिवारलाई सम्पर्क गरि मंगलबार नेपाल पठाएका थिए।

कतार एयरवेज मार्फत उनी आज बुधबार बिहान काठमाडौं पुगेको ज्ञवालीले जानकारी दिएको क्यानडामा रहेका पत्रकार शिशिर सिंखडाले इमेलमार्फत उल्लेख गरेका छन्। श्रेष्ठको उद्धार गर्नको लागि क्यानडामा रहेका अजय कार्कीको सहयोग रहेको ज्ञवालीले बताए।

क्यानडा प्रहरीले श्रेष्ठलाई बेवारिसे अवस्थामा भेटेर सिबिक हस्पिटल, ब्राम्पटन पुर्याएको जानकारी पाए लगत्तै ज्ञवालीले उनको उद्धार गरि नेपाल पठाउन सफल भएको बताए । उनी आज बिहान ९ बजे नेपाल पुगेको र एयरपोर्टबाट उनको परिवारजनले भेटेर जिम्मा लिएको ज्ञवालीले जानकारी दिए ।

“क्यानाडामा अहिले नेपाली नयाँ विद्यार्थीहरुको अवस्था अत्यन्तै भयाबह छ। तपाई हामीले सोचेको भन्दा पनि धेरै,”एनआरएनए क्यानडाका सदस्य कमल ज्ञवालीले भने।

एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले विद्यार्थीहरुका लागी क्यानडामा काम पाउन मुस्किल हुँदै गएको बताए ।

“विद्यार्थी श्रेष्ठको समस्याबारे जानकारी हुनासाथ हामीले तत्कालै हाम्रा सदस्य कमल ज्ञवाली मार्फत उद्धारको पहल गरेका हौं। क्यानडामा विद्यार्थीलाई पूरा समय काम गर्ने अनुमती छैन, हप्ताको २० घण्टामात्रै काम गर्न पाउने यहाँको सरकारी नियम छ,” उनले भने।

प्रकाशित: ३ माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया