मनाईयो राष्ट्रिय सूचना प्रविधि दिवस, हरेक क्षेत्रमा सूचना प्रविधि उपयोग गर्न विज्ञहरुको सूझाव

Technology Khabar २० बैशाख २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । मुलुकमा सूचना प्रविधिको विकास र बिस्तार गराउने उद्धेश्यसहित राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस मनाईएको छ । पहिलो पटक सरकारले नेपालमा राष्ट्रि सूचना प्रविधि दिवसको रुपमा मई २ तारिखलाई मनाउने निर्णय गरेपछि औपचारिकरुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आयोजित एक कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोपाल प्रसाद बाँस्कोटाले सूचना प्रविधिको विकास गर्न पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले पूर्वाधार निर्माण गर्दा निश्वार्थ भावनाले गर्नुपर्ने भन्दै त्यसो हुन नसकेको बताए ।

‘पूर्वाधार बनाउन चोखो मन लिएर जानुपर्ने, तर मलाई के फाईदा हुन्छ भन्ने गरि अब सरकारले नीति बनाउने छैन्, हाल पोर्टफोलियो म्यानेजमेन्ट गर्न भन्दै प्रतिशत लिने गरिएको छ अब त्यो रोकिन्छ,’ उनले भने ।

मन्त्री बास्कोटाले सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन आग्रह गर्दै पारदर्शिरुपमा लगानी ल्याउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सूचना प्रविधिको पहुँच बिस्तार गर्न ब्रोडब्याण्ड नेटवर्क बिस्तार गरिरहेको भन्दै आईटिका विभिन्न सूचकहरुमा माथि आउने प्रयास गरिरहेको बताए ।

कार्यक्रममा क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले नेपालमा सूचना प्रविधि शिक्षाको आवश्यकता रहेको भन्दै हरेक क्षेत्रको विकासमा सूचना प्रविधि महत्वपूर्ण हुने बताए ।

उनले यसको लागि नीतिगत कार्यान्वयन गरे मात्रै देशले विकासको फड्को मार्ने दाबी गरे ।

त्यस्तै सोहि अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलीले नेपालीहरुको नागरिकताको आधारमा सरकारी निकायमा सम्पूर्ण काय अनलाइनमार्फत गर्ने गरि काम गरिरहेको जानकारी दिए । उनले त्यसको लागि पहिलो चरणमा सरकारी अधिकारीहरुलाई ईमेलमार्फत आधिकारिक कार्यहरु गराउन शुरु गरिएको बताए ।

त्यस्तै डियरवाक अमेरिकाका डा रुद्र राज पाण्डेले नेपालको विकास गर्न शिक्षा, सूचना प्रविधि र पर्यटनको विकास गर्नुपर्ने बताए । उनले सूचना प्रविधिको विकास गर्न दक्ष जनशक्तिको आवश्यकता भएको र व्यवसायी बिस्तारको लागि सहज वातावरण बनाउनुपर्ने विचार व्यक्त गरे ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा ज्योती तण्डुकारले प्रविधिले रोजगारी सिर्जना गर्ने हुँदा हरेक क्षेत्रमा प्रविधिको प्रयोग अधिकतमरुपमा गरिनुपर्ने बताए ।

प्रकाशित: २० बैशाख २०७५, बिहीबार

तपाइको प्रतिक्रिया