स्वचालित क्यामराबाट कारबाही निष्प्रभावी

  • Technology Khabar | २४ पुष २०८०, मंगलवार
स्वचालित क्यामराबाट कारबाही निष्प्रभावी

काठमाडौं ।

दुर्घटना नियन्त्रण गर्न सडकमा जडित स्वचालित क्यामरा प्रयोगबाट सवारी नियम उल्लङ्घनकर्तालाई कारबाही सहज हुन सकेको छैन। उपत्यकामा गुड्ने सवारीसाधनको गति मापन गर्न ट्राफिक प्रहरीले गत भदौ १५ गते चक्रपथका तीन स्थानमा स्वचालित क्यामरा जडान गरेको थियो।

अन्य थप स्थानमा यस्ता क्यामरा जडान भइरहेको छ।

अधिकतम ५० किलोमिटर प्रतिघण्टाभन्दा तीव्र गतिमा गुड्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउने उद्देश्यले जडान गरिए‌का ती क्यामराले स्वचालित रूपमा काम गरे पनि ट्राफिक प्रहरीको कारबाही स्वचालित बन्न सकेको छैन।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले भने, “स्वचालित क्यामराबाट शतप्रतिशत ट्राफिक उल्लघनका तस्बिर कैद भए पनि सबैलाई कानुनी दायरामा ल्याउन सम्भव हुँदैन।”

स्वचालित क्यामराले कैद गरेका ट्राफिक नियम उत्सञ्चयनकर्ताका तस्बिर र हुलियाका आधारमा ट्राफिक नियमन गर्ने गरिएको छ तर झन्डै ५० प्रतिशत सवारीचालक कारबाहीको दायरामा आउन सकेका छैनन्। क्यामरा जडान गरिएपछिको पाँच महिनामा एक हजार ६५५ सवारीचालक मात्र कारबाहीको दायरामा आएका छन्।

स्वचालित क्यामराको तस्बिर हेरेर फिल्डमा रहेका ट्राफिकलाई खबर गर्ने र ती ट्राफिकले गुडिरहेको सबारीलाई रोकेर कारबाही गर्ने गरिएको छ। तीव्र गतिमा रहेको सवारी रोक्दा दुर्घटनाको डर हुनुका साथै सवारीचालकले गन्तव्य मोडदा कारबाही गर्न समस्या हुने गरेको छ।

सवारीसाधन र सवारीधनीको विवरण यातायात व्यवस्था कार्यालयमा रहने गरेको छ। कार्यालयमा परम्परागत अर्थात् कागजी उड्डामा राख्ने गरिएका कारण सबै विवरण खोज्न अत्यन्तै कठिन रहेको ट्राफिक प्रहरीको गुनासो छ।

यातायात व्यवस्था विभागले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा मेडिकल रजिस्ट्रेसन सिष्टम ( इडिएल भीआरएस) मा अद्यावधिक गर्ने भनिए पनि यसको कार्यान्वयन नहुँदा स्वचालित प्रणाली कायम हुन सकेको छैन। गोरखापत्रबाट

प्रकाशित: २४ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...