मागेका कागजातहरुनै नपाएपछि एनसेल किनबेच विषयमा गठित छानबिन समितिको समयावधि थपिनसक्ने

  • Technology Khabar | २३ पुष २०८०, सोमबार
मागेका कागजातहरुनै नपाएपछि एनसेल किनबेच विषयमा गठित छानबिन समितिको समयावधि थपिनसक्ने
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

सरकारले हालै भएको एनसेल आजियाटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गरी प्रतिवेदन पेश गर्न गठन गरेको उच्चस्तरीय अध्ययन तथा छानविन समितिको समयावधि थप हुनसक्ने देखिएको छ।

समितिको म्याद यहि पुस २४ गतेसम्म रहेपनि सो अवधिभित्र प्रतिवेदन तयार हुन नसक्ने देखिएसँगै समय थप हुने संभावना रहेको छ।

समितिका एक सदस्यले तोकिएको समयावधि भित्रै प्रतिवेदन तयार गर्ने प्रयास भएपनि हालसम्म विभिन्न निकायहरुसँग माग गरेको कागजातहरु अझै उपलब्ध नभएको बताए।

“हामीले तोकिएको समय भित्रै सरकारलाई प्रतिवेदन बुझाउने योजनाअनुसार काम गरिरहेका छौं। तर विभिन्न निकायहरुले मागेका कागजातहरुनै दिएका छैनन्,” ती सदस्यले आइतवार टेक्नोलोजीखबरसँग भने।

उनकाअनुसार विभिन्न नियामक निकायहरुबाट अझै कागजातहरु आउन बाँकी छन्। यसैकारणले केहि समय थप हुनसक्ने संभावना रहेको र त्यस बारेमा समितिले विचार गरिरहेको उनले बताए।

मंसिर २१ गते बसेको मन्त्रिपरिषद् बैठकले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गरी प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गर्ने निर्णय गरेको हो।

उक्त समितिमा सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आईक्यानका अध्यक्ष सुजनकुमार काफ्लेलाई सदस्य तोकिएको छ।

उक्त समितिले एक महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने समयावधि तोकिएको थियो।

यसअघि सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकले सरकारलाई एनसेलको शेयर खरिदबिक्रीको बारेमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गर्न निर्देशन दिएको थियो।

गत असोज १२ मा मलेसियन लगानीकर्ता आजियाटा ग्रुप बर्हादको बोर्डले एनसेलबाट बाहिरिने निर्णय गरेको थियो। यस विषयको जानकारी भने कम्पनीको मंसिर १३ गते प्रकाशित तेस्रो त्रैमासको वित्तीय विवरणमार्फत सार्वजनिक गरिएको थियो।

२०७२ चैतमा स्वीडेनको कम्पनी टेलिया सोनेराको ८० प्रतिशत सेयर किनेर आजियाटा ग्रुप एनसेलमा भित्रिएको थियो। आजियाटाले टेलिया सोनेराको सेयर खरिद गर्दा एनसेलको मूल्यांकन एक खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी गरिएको थियो।

आजियाटा बोर्डले नेपालको एनसेलका कारण समूहले घाटा व्यहोरेको भन्दै नेपालीमूलका व्यवसायी सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ५० मिलियन अमेरिकी डलरको मूल्यमा बिक्री गरेको बताएको छ।

प्रकाशित: २३ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार