Technology Khabar १९ पुष २०८०, बिहीबार
काठमाडौं ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. पूर्ण अटोमेशनमा गएको छ। पछिल्लो समय प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिनको लागि पृथ्वी यातायात पनि पूर्ण अटोमेशनमा गएको हो।
अटोमेशनमा गएसँगै अब पृथ्वी यातायातका सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ। पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् ।
कम्पनीले नेपालको एकमात्र टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो ।
पोखरामा आयोजित एक पत्रकार सम्मेलनमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र बहादुर केसीले अबदेखि यात्रुहरूले पृथ्वी यातायातका एसी, डिलक्स्, हायस लगायका सबै किसिमका गाडीको टिकट अनलाईन मार्फत काट्न सकिने बताए।
यसका साथमा यात्रुहरूले पृथ्वी यातायातको पृथ्वी बस डटकम डट एनपी (www.prithivibus.com.np), पृथ्वी यातायातको मोबाईल एप्लीकेशन तथा बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशनमार्फत सहजै टिकट काट्न सकिनेछ।
कार्यक्रममा बोल्दै पृथ्वीका अध्यक्ष केसीले भने, “अहिले नेपालका धेरै क्षेत्रमा प्रविधिको प्रयोग भएको छ र सहजता पनि ल्याएको छ। हामी पनि समय र आम यात्रुको माग अनुसार प्रविधिको प्रयोग गरेर सेवा प्रदान गर्नुपर्छ भन्ने उदेश्यले प्रविधिको आत्मसाथ गरेका छौँ। हामीलाई विश्वास छ, यसले हाम्रो सेवालाई थप प्रभावकारी र विश्वसनिय बनाउनेछ।”
यस्तै कार्यक्रममा बससेवा डटकमका प्रमुख कार्यकारी पिआर खनालले भने, “यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यस क्षेत्रलाई थप व्यवस्थित् बनाउँदै यात्रुहरुलाई सुविधा दिनुपर्छ भन्ने हाम्रा जुन संकल्प थियो र छ, आज आएर देशकै अग्रणी कम्पनी पृथ्वीसँग जोडिन पाउँदा हामी अत्यन्तै खुशी भएका छौँ।”
बिगत ५० वर्ष भन्दा धेरै समय सेवा दिँदै आएको पृथ्वी यातायातले नेपालका प्रमुख शहर काठमडौ, बुटवल, हेटौडा देखि पूर्वका काँकडभिट्टादेखि सुदुरपश्चिमका धनगढीसहित ३० भन्दा बढि शहरमा सेवा दिँदै आएको छ।
कम्पनीले ४ सय १० ओटा भन्दा धेरै रुटबाट करिब १३५० बस मार्फत सेवा दिँदै आएको छ। पृथ्वी यातायातबाट दैनिक ८ हजार भन्दा बढि यात्रुले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको जनाईएको छ।
प्रकाशित: १९ पुष २०८०, बिहीबार