
काठमाडौं ।
अबदेखि कोही कसैलाई अन्याय भएमा प्रहरी चौकीसम्म पुग्नुपर्ने झन्झट हट्ने भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटले ‘क्युआर कोड स्क्यान’ बाटै प्रहरीमा उजुरी गर्न मिल्ने व्यवस्था मिलाएपछि त्यो झन्झट हटेको हो।
प्रहरी कार्यालयले उजुरी प्रक्रियालाई प्रभावकारी बनाउन डिजिटल तरिकाले उजुरी दिन सकिने व्यवस्था मिलाएको छ। स्थानीय नागरिकले गुनासो र उजुरीका लागि प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ।
जिल्ला सदरमुकाम मान्मका विभिन्न क्षेत्रमा अहिले ‘क्युआर कोड’ टाँसिएको छ । प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स) कोड सार्वजनिक गरिएको बताए।
विशेष गरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न क्युआर कोडको प्रयोग गरिएको प्रहरी प्रमुख केसीको भनाइ छ। क्युआरबाट प्राप्त उजुरी कार्यान्वयन भए/नभएको विवरण उजुरीकर्तालाई दिने उनले बताए।
“शान्तिसुरक्षामा समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि स्थानीयले जहाँबाट पनि प्रविधिमार्फत उजुरी दिन सक्ने छन्,” उनले भने, “क्युआर कोड स्क्यान’ बाट उजुरी दिने उजुरीकर्ताको नाम भने गोप्य राखिने छ। गोरखापत्रबाट
प्रकाशित: १५ पुष २०८०, आईतवार