
काठमाडौं ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड (एनएओ) को एघारौं संस्करण आयोजना गर्ने भएको छ। यसको लागि नासोले सातै प्रदेशमा आवेदन खुलाएको छ।
संस्थाकाअनुसार ११औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२४ को पहिलो राउण्ड शनिबार माघ १३ गते हुनेछ।
यसैगरी कार्यक्रममा सहभागी हुनका लागि दर्ताको अन्तिम मिति माघ ५ गतेसम्म तोकिएको छ।
यसअन्तरगत जुनियर र सिनियर विधामा सातै प्रदेशमा छनोट परिक्षा संचालन गरिने बताईएको छ।
यस कार्यक्रममा प्रत्येक वर्ष जनवरी-जुलाई बीच क्रमशः प्रादेशिक राउन्ड (प्रवेश परीक्षा), राष्ट्रिय राउन्ड र फाइनल राउण्ड गरी तीन चरणहरू हुन्छन्।
फाइनल राउण्डले हरेक वर्ष आयोजना हुने विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडका लागि जुनियर र सिनियर दुवै विधाका लागि राष्ट्रिय मेरिट सूची बनाउँछ।
राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड (एनएओ) सन् २०१४ देखि आयोजना भईरहेको हरेक वर्ष नेपालमा विद्यालयका विद्यार्थीहरूको लागि प्रारम्भिक चरणको प्रतिभा खोज कार्यक्रम हो।
यो नेपालका कनिष्ठ (कक्षा ८-१०) र वरिष्ठ (कक्षा ११-१२) का विद्यार्थीहरूको लागि वार्षिक कार्यक्रम हो जसले स्टीम (STEAM) क्षेत्रमा उनीहरूको शैक्षिक करियरलाई समर्थन गर्न भविष्यमा उनीहरूको व्यक्तिगत विकासको लागि सञ्चार, सहयोग, आलोचनात्मक सोच र आलोचनात्मक लेखन सिक्ने अवसर प्रदान गर्दछ।
प्रकाशित: १५ पुष २०८०, आईतवार