Technology Khabar १० पुष २०८०, मंगलवार
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आज सार्वजनिक विवरणमा संचार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न उपलब्धि हासिल गरेको बताईएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवाको बिस्तारदेखि साइबर सुरक्षाका कार्यक्रमहरुलाई उपलब्धिमा राखेको छ। यसैगरी टिकटकलाई रोक लगाएको विषयलाई समेत प्रमुखताका साथ उल्लेख गरेको छ।
हेर्नुस् सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतका सरकारका उपलब्धिहरु
• सरकारी कार्यालयहरूको वेबसाइटमा एकरूपता कायम गर्न कमन टेम्प्लेट (Common Template) को अवधारणा बमोजिम ५० कार्यालयमा एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (GIWMS) कार्यान्वयनमा ल्याइएको।
• कागजरहित सरकारको प्रवर्द्धन गर्न हालसम्म ८० ओटा निकायहरू सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) मा आबद्ध भएका। २८१ विभिन्न सरकारी निकायका ४१९ सफ्टवेयर प्रणालीहरूको सेक्यूरिटी अडिट सम्पन्न भएको।
• टेलिभिजन च्यानलहरूको सिग्नल वितरण गर्न इजाजत प्राप्त प्रसारण संस्थाहरूले उपभोक्ताबाट लिन पाउने शुल्कलाई वैज्ञानिक, व्यवस्थित र पारदर्शी बनाउन आला कार्ट (A’ La Carte) प्रणाली लागु गरिएको।
• गोरखापत्र दैनिकमा बझाङी, ह्योल्मो र बाहिङ किराँत भाषा थप गरी ४१ भाषामा समावेशी लेखरचना प्रकाशन भइरहेको। रेडियो नेपालबाट २१ भाषामा र नेपाल टेलिभिजनबाट १० भाषामा समावेशी कार्यक्रमहरू प्रसारण भइरहेको।
• साइबरजन्य जोखिम न्यूनीकरणका लागि साइबर सुरक्षा अनुगमन केन्द्र चौबिसै घण्टा सञ्चालनमा ल्याइएको।
• फोरजी सेवा 4 स्थानीय तहमा थप भई ७३९ स्थानीय तहमा विस्तार भएपश्चात् सेवाको पहुँच ६७ प्रतिशत जनसङ्ख्यामा पुगेको।
• हराएका तथा चोरी भएका मोबाइल सेटहरूको ट्र्याकिङ्ग (Tracking) गर्नको लागि अनलाइन ट्र्याकिम सिस्टम (Online Tracking System (MDMS) प्रणाली प्रयोगमा ल्याउने निर्णय गरिएको।
• स्थानीय तहका सबै कार्यालयहरुमा, १०,१४६ सामुदायिक विद्यालय तथा ४,३९० स्वास्थ्य केन्द्रहरूमा ब्रोडब्याण्ड जडान गरिएको। नेपाल टेलिकमबाट १ जीबीपीएससम्मको उच्च गतिको इन्टरनेटको वितरण प्रारम्भ भएको।
• अप्टिकल फाइबरमा आधारित फाइबर टु द होम (एफटीटीएच) सेवा थप ६ जिल्लामा विस्तार भई हालसम्म जम्मा ७३ जिल्लामा पुगेको।
• नागरिक एपमा सवारी चालक अनुमतिपत्रसहित थप ५ वटा सेवालाई आबद्ध गराई हालसम्म जम्मा ६२ ओटा सरकारी सेवाहरू आबद्ध भएको।
• संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संवर्द्धन गर्न गणतन्त्र स्थापना भए पश्चात्का महत्त्वपूर्ण उपलब्धिहरूको खोज तथा अनुसन्धान गरी “गणतन्त्रका १५ वर्ष” नामक इन्फोग्राफिक्स प्रकाशन गरिएको।
• सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा परिरहेको नकारात्मक असर अन्त्य गर्न सामाजिक सञ्जालका रूपमा प्रयोग भइरहेको टिकटक एपलाई नेपालमा प्रयोग गर्न तत्कालका लागि रोक लगाउने निर्णय गरिएको।
यसैगरी अन्तर्राष्ट्रिय जगतमा देशको सम्मान र प्रतिष्ठा अभिवृद्धि गर्न सरकारले आगामी दिनमा आफ्नो कार्यशैली र कार्यप्रणालीलाई थप चुस्त, नतिजामुखी र नागरिकमैत्री बनाउँदै जाने उद्घोष गरेको छ।
प्रकाशित: १० पुष २०८०, मंगलवार