Technology Khabar १० पुष २०८०, मंगलवार
काठमाडौं ।
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि पूर्वका पर्यटकीय स्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा कमी आएको छ।
पहिले यहाँ पर्यटकीय स्थलमा दैनिक जसो तीन हजार जनासम्म पर्यटक टिकटक बनाउन तथा घुमफिरका लागि आउने गरेकोमा हाल टिकटक बन्द भएपछि मुस्किलले तीन सय जति आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको यहाँस्थित हेप्पी ड्रिम्स चेप्टीका सञ्चालक दिनेश शिवाकोटीले बताए।
उनले भने, “करोडौँ रुपियाँ खर्च गरेर पर्यटकीय स्थलको निर्माण गर्यौं तर टिकटक बन्द भएसँगै पर्यटक घट्न थाले । व्यापार घटेपछि बैङ्क ब्याज तिर्नसमेत समस्या परेको शिवाकोटीको गुनासो छ।
यहाँ दैनिक सयौँको सङ्ख्यामा भारत तथा बङ्गलादेशबाटसमेत पर्यटक आउने गरेकोमा हाल यसमा निकै कमी आएको हेप्पी ल्यान्ड फनपार्कका व्यवस्थापक दिनेश सेलुवालले बताए। उनले भने, “सेल्फी खिच्न र टिकटक बनाउनकै लागि भनेर सेल्फी डाँडोसमेत निर्माण गरेका थियौँ तर सरकारले टिकटक बन्द गरेपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै घट्दा हामी जस्ता व्यवसायी मारमा परेका छौँ।”
यहाँका पर्यटकीय स्थल दोमुखा, धनुषकोटीधाम, जामुनवारी सिमसार, कालिका सिमसार, सालवारी र इलामका पर्यटकीय स्थलमा समेत आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको त्यहाँका समिति तथा सञ्चालकको गुनासो छ।
त्यस्तै टिकटकलगायतका सामाजिक सञ्जालमार्फत प्रचार गरेर आफ्नो व्यवसाय सञ्चालन गरिरहेका र यसैमार्फत ग्राहक तानिरहेका व्यवसायीको समेत भविष्य अन्योलमा परेको छ। टिकटकमार्फत गरिएको मार्केटिङ प्रभावकारी हुने गरेको ब्यवसायीको भनाइ छ। गोरखापत्रबाट
प्रकाशित: १० पुष २०८०, मंगलवार