
काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमलाई गुणस्तरिय सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।
आयोगका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल टेलिकमको सेवालाई व्यापक रुपमा विस्तार गरी यसको गुणस्तरसमेत अभिवृद्धि गर्नु पर्ने बताइएको छ।
आयोगले गत मंसिर ६ र ७ गते सरकारका नियामक निकायहरु तथा सार्वजनिक संस्थाहरु बीच अन्तरक्रिया गरेर थियो। उक्त अन्तरक्रियाको आधारमा आयोगले पुस ४ गते नेपाल टेलिकमलाई सेवा सुधार, खरिद कार्य पारदर्शी, अनियमितता र मिलेमोतो गर्न निर्देशन दिएको हो।
यस्तै नेपाल टेलिकमको खरिद कार्यलाई पारदर्शी, प्रतिस्पर्धी बनाई खरिद कार्यमा कुनै पनि प्रकारको अनियमितता र मिलेमोतो नहुने व्यवस्था मिलाउन पनि भनिएको छ।
नेपाल टेलिकमले आह्वान गरेको टेण्डरको म्याद समाप्त भएका र कार्यसम्मन्न नभएका रुग्ण आयोजनाको तत्काल कानुनबमोजिम व्यवस्थापन गर्न पनि आयोगले निर्देशन दिएको छ।
काठमाडौं उपत्यकामा मोबाइल सेवा गुणस्तरहीनः दूरसञ्चार प्राधिकरणको रिपोर्ट
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गत वर्ष माघमा नेपाल टेलिकम तथा अन्य दूरसञ्चार सेवा प्रदायकहरुको काठमाडौं उपत्यकामा प्रदान गरिरहेको सेवाहरुको गुणस्तर मापन गरेको थियो। जसमा नेपाल टेलिकमको सेवाले मापदण्ड पुरा नगरेको देखिएको थियो। भ्वाइस सेवाको गुणस्तरका कल सेटअप सक्सेस रेट, कल सेटअप टाइम, कल ब्लक रेट तथा कल ड्रप रेटका मानकमध्ये कुनै पनि नेपाल टेलिकमले मापदण्ड पुरा गरेको देखिँदैन।
प्रकाशित: ४ पुष २०८०, बुधबार