एनसेलको भ्रष्टाचार सरकारले ढाकछोप गर्न खोजेको लेखा समिति सभापति पोखरेलको आरोप

  • Technology Khabar | ४ पुष २०८०, बुधबार
एनसेलको भ्रष्टाचार सरकारले ढाकछोप गर्न खोजेको लेखा समिति सभापति पोखरेलको आरोप

काठमाडौं ।

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलको शेयर खरिद बिक्रीमा भएको भ्रष्टाचार ढाकछोक गर्न सरकार लागेको आरोप लगाएका छन्।

सभापति पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट्स लेख्दै सरकार माथि यस्तो आरोप लगाएका हुन्।

उनले फेसबुकमा यस्तो लेखेका छन्, ‘सरकारी शक्ति, सत्ता, पहुँच र साधनको प्रयोग गरी सार्वजनिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्ड सम्बन्धि निर्यायलाई र सरकारलाई दिएको दवाबलाई कमजोर बनाउन र भ्रष्टाचारलाई छोप्न, आफ्नो कार्यक्षेत्र भन्दा बाहिर विभिन्न संसदिय समितिहरु मार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु।’

मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेल आजियाटाको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रश्न सोधेको थियो। साथै उक्त समितिले एनसेल आजियाटा लिमिटेडको ८० प्रतिशत शेयर खरिद तथा बिक्री रोक्न, कानुन बमोजिम राज्यलाई तिर्नुपर्ने बुझाउनु पर्ने कर र गैर कर एनसेलबाट असुल उपर गर्न, दूरसञ्चार ऐन र नियमावली समय सापेक्ष यथाशीघ्र ल्याउन र एनसेल जस्ता ठूला कम्पनी खरिद बिक्री गर्दा खरिदकर्ता क्षमता, कम्पनी चलाएको अनुभव भए नभएको चेक जाँच गरी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको थियो।

साथै एनसेल आजियाटाको शेयर खरिद बिक्रीका सम्बन्धमा अर्थ समितिमा पनि छलफल भइसकेको छ।

प्रकाशित: ४ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...