दूरसञ्चार क्षेत्रको विकासमा देखापरेका समस्या र चुनौतीलाई सम्बोधन गरिने: संचार मन्त्री शर्मा

  • Technology Khabar | ३ पुष २०८०, मंगलवार
दूरसञ्चार क्षेत्रको विकासमा देखापरेका समस्या र चुनौतीलाई सम्बोधन गरिने: संचार मन्त्री शर्मा

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार क्षेत्रको विकासमा देखापरेका समस्या र चुनौतीलाई सम्बोधन गरिने बताएकी छन्।

मन्त्री शर्माले एनसेलको ८० प्रतिशत शेयर अर्काे विदेशी कम्पनीलाई बिक्री गरेको भन्ने समाचार सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्री र आफ्नो मन्त्रालयले तत्कालै आवश्यक चासो लिई नियामक निकायसँग बुझ्ने काम भएको जानकारी दिइन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा संचारमन्त्री शर्माले एनसेलको शेयर बिक्री बारेमा अध्ययन समितिले हेरिरहेको बताईन्।

उनले भनिन्, “एनसेलको शेयर बिक्री वितरण गर्न नियमन निकाय स्वीकृत लिनुपर्नेमा त्यो नभएको अवस्था छ, बिक्री अन्तरराष्ट्रिय मूल्य मान्यताअनुरुप छ÷छैन, त्यससम्बन्धी कानुन केकस्तो छ भन्नेबारे सरोकारवाला निकायसँग छलफल भएको र त्यसपछि मन्त्रिपरिषद्बाट विस्तृत अध्ययन छानबिन समिति गठन गरिएको छ।”

मन्त्री शर्माका अनुसार, छानबिन समितिले अहिले काम अघि बढाइरहेकाले वैदेशिक लगानीको अवस्था, शेयर खरिद– बिक्रीको पारदर्शिता, कर र राजस्वको विषय के भएको छ। ऐन नियमको पालना भएको छ कि छैन भनी समितिले अध्ययन गर्नेछ। छ वर्षपछि एनसेल सरकारको मातहत आउँदैछ।

नेपालको दूरसञ्चार क्षेत्रको विकासमा देखापरेका समस्या खासगरी विदेशी लगानी नेपालमा कसरी आकर्षण गर्ने, पारदर्शिता कायम गर्ने पाटोमा देखिएका चुनौतीलाई सम्बोधन गरिने उनले बताईन्।

मन्त्री शर्माले एनसेलका विषयमा उठेको विषयलाई सरकारले अत्यन्त गम्भीरताका साथ अध्ययन र छलफल गरेर निष्कर्षमा प्रयत्न गरिरहेको जानकारी दिँदै त्यस सम्बन्धमा देखिएका कमीकमजोरी र समस्या समाधान गर्न निर्देशनभएअनुरुप काम अघि बढाइएको जानकारी दिईन्। रासस

प्रकाशित: ३ पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार