Technology Khabar २ पुष २०८०, सोमबार
काठमाडौं ।
केही दिनअघि रौतहटको चन्द्रपुर–६ का युवा भीमसेन पौडेलको फेसबुक एकाउन्ट ह्याक भएपछि उनी तनावमा छन् । उक्त फेसबुकबाट निरन्तर रूपमा अश्लील फोटो पोस्ट भइरहेका थिए । यति मात्रै हैन कतिपयसँग त पैसासमेत मागेपछि उनी झनै तनावमा थिए।
यस्तो घटना पछिल्लो समय निकै बढेको रौतहटका युवा व्यवसायी अभि घिमिरे बताउँछन्। उनी भन्छन्, “फेसबुक पेजका माथि देखिने ‘स्टोरी’ मा हरेक दिन कसै न कसैको फेसबुकबाट अश्लील फोटो पोस्ट भएकै हुन्छ। अधिकांश फेसबुक ह्याक भएर यस्ता नराम्रा पोस्ट भइरहेकोले फेसबुक प्रयोगकर्ता सामाजिक रूपमा बदनाम भइरहेका छन्।”
स्लील तस्बिर पोस्ट गर्ने मात्र नभई एकाउन्ट ह्याक गरी पैसा माग्ने वा कुनै लिङ्कका क्लिक गर्न लगाएर बैङ्क तथा वित्तीय संस्थाका एकाउन्ट पनि ह्याक गर्ने गतिविधि बढिरहेको चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र सापकोटा बताउँछन्। उनकाअनुसार केही महिनाअघि ह्याकरले चन्द्रपुर नगरपालिकामा रहेको कुमारी र माछापुच्छ्रे बैङ्कबाट रकम निकालेको उदाहरण पनि छ।
फेसबुक कसरी ह्याक हुन्छ? यसबाट कसरी सुरक्षित रहने भन्नेबारेमा फेसबुक प्रयोगकर्ताले जानकारी लिनै पर्छ। यस सम्बन्धमा चन्द्रपुर नगरपालिकाका आइटी अफिसर राजेश सागर भन्छन्, “सबैभन्दा पहिले प्रयोगकर्ताले फेसबुक रिकभरी इमेल र मोबाइल नम्बरलाई सुरक्षित गर्नु पर्छ।’’
“त्यसका लागि फेसबुकको सेटिङमा गएर त्यसलाई पुनः अपडेट गर्नुहोस् किन कि रिकभरी इमेल र मोबाइल नम्बर प्रयोगकर्तासँग सुरक्षित भयो भने जो कसैले अरूको फेसबुक ह्याक गर्न सक्दैनन् । अर्को कुरा धेरै पहिले खोलिएका फेसबुक एकाउन्टमा धेरैले ‘याहु’ इमेल प्रयोग गरेको हुन्छ । उक्त इमेल प्रयोग भएको छ भने त्यसलाई पनि परिवर्तन गरिहाल्नु होस् । किन कि याहु इमेल प्रयोग गरी खोलिएका अधिकांश फेसबुक एकाउन्ट ह्याक हुने गरेको पाइएको छ।”
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक गायत्रीराज शर्माले फेसबुक ह्याक भएको उजुरी दिनहुँ जसो आउने गरेको बताए । अहिले यो व्यापक भएको बताउँदै उनले फेसबुक तथा म्यासेन्जरमा आएका जुन पायो त्यही लिङ्क क्लिक नगर्न अनुरोध गरे।
यस्तै फेसबुकको ‘वाल’ मा आउने ‘न्युज’ हरू आधिकारिक हुन् वा हैनन् यकिन गरेर मात्रै क्लिक गर्न उनको सुझाव छ । कसैको म्यासेजबाट कुनै पनि बहानामा पैसा माग्ने वा ओटिपी कोड मागेमा कुनै पनि हालतमा कसैलाई पनि नदिन अनुरोध गर्दै उनले फेसबुक ह्याक भई समस्यामा पर्नुभएको छ भने तुरुन्तै नेपाल प्रहरीको साइबर ब्युरोमा सम्पर्क गर्नसमेत आग्रह गरे। गोरखापत्रबाट
प्रकाशित: २ पुष २०८०, सोमबार