Technology Khabar १ पुष २०८०, आईतवार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले संचालनमा ल्याएको भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) संचालनको परियोजनामा भ्रष्ट्राचार भएको आशंकामा अख्तियार दूरुपयोग अनुसन्धान आयोग र सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले छानबिन गरिरहेको छ।
नेपालभित्र मोबाइलहरुको आईएमईआई सहितको अन्य डाटाहरु सुरक्षित राख्न र मोबाइलको अवैध आयातलाई रोक्न शुरु गरिएको एमडीएमएस हालसम्मपनि पूर्णरुपमा संचालनमा नआउँदा अख्तियार दूरुपयोग अनुसन्धान आयोग र मन्त्रालयले छुट्टाछुट्टै छानबिन अगाडि बढाएका हुन्।
प्राधिकरण स्रोतकाअनुसार अख्तियारले यस बारेमा निकै अगाडिदेखि छानबिन गरिरहेको छ। र अहिले दैनिकजसो फाइलहरु मगाईरहेको छ।
“प्राधिकरणबाट अख्तियारले विभिन्न कागजातहरु निरन्तर मगाएको छ। एमडीएमएसको बिस्तृत जानकारी र निर्णयहरुसमेत माग्दै आएको छ,” स्रोतले भन्यो, “कहिले बयानलाई बोलाउने हो भनेर त्रसित अवस्था छ।”
यसैबीचमा एमडीएमएसको बारेमा विभिन्न समाचारहरु प्रकाशित भएसँगै मन्त्रालयले समेत कमिटी गठन गरेर छानबिन अगाडि बढाएको छ।
मन्त्रालय स्रोतकाअनुसार मन्त्रालयले सहसचिव गौरव गिरीको नेतृत्वमा एमडीएमएस छानबिन कमिटीनै बनाएर हेरिरहेको छ।
“सो कमिटीले एक साता अगाडिनै एमडीएमएसको सेकेन्डरी उपकरणहरु जडान भएर संचालनमा रहेको भनिएको जीआईडीसीमा अनुगमन गरेको छ। त्यहाँ सेकेन्डरी उपकरणहरु नै संचालन नगरी त्यत्तिकै राखेको पाईयो,” मन्त्रालय स्रोतले भन्यो, “हालको सफ्टवेयर पनि जीआईडीसीकै उपकरणहरुमा संचालन रहेको देखियो।”
उक्त कमिटीले अनुगमन पछि एमडीएमएस संचालनमा रहेको बारेमानै आशंका गरेको स्रोतको दाबी छ।
यसका साथै कमिटीले प्राधिकरणमा एमडीएमएस परियोजनाको जिम्मा पाएको पूर्वाधार महाशाखाका अधिकारीहरुसँगसमेत गत सातानै यस बारेमा भेटेर छलफल र जानकारी लगेको स्रोतले दाबी गरेको छ।
“कमिटीका संयोजकनै प्राधिकरणमा पुगेका थिए। के के विषयमा छलफल भयो र जानकारी मागियो भन्ने थाहा छैन्,” स्रोतले भन्यो।
स्मरण रहोस्, दूरसञ्चार प्राधिकरणले पटक-पटक सफ्ट लन्च र औपचारिकरुपमा शुरु भएको घोषणा गरेपनि उक्त सिस्टमनै संचालनमा नरहेको खुलासा भएको थियो।
यस बाहेक हालसालै मात्र एमडीएमएसमा पछिल्लो समयमा दर्ता भएका फोनहरुसमेत प्रमाणीकरण हुन नसकेको समाचार बाहिरिएको थियो।
सम्बन्धित समाचार-
यसका साथै दूरसञ्चार प्राधिकरणले आफैंले प्रेस विज्ञप्तीमार्फत उक्त सिस्टमनै संचालनमा नरहेको र त्यससँग सम्बन्धित अन्य सफ्टवेयरहरु प्रयोगमा रहेको स्वीकार गरेको थियो। यसका साथै प्राधिकरणले एमडीएमएसका लागि आवश्यक कन्टेनरसहितका अन्य उपकरणहरुसमेत आउन बाँकी रहेको जानकारी दिएको थियो।
सम्बन्धित समाचार-
एमडीएमएसको प्रणालीनै संचालनमा नआएको दूरसञ्चार प्राधिकरणको स्वीकारोक्ति
प्रकाशित: १ पुष २०८०, आईतवार