Technology Khabar ३० मंसिर २०८०, शनिबार
काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले देशैभर जलवायुको अवस्थाबारे अध्ययन गरी मानचित्र (डिजिटल नक्सा) तयार गर्ने भएको छ। त्यसका लागि सार्क राष्ट्रका कृषि वैज्ञानिकहरू नेपालमा छलफलमा जुटेका छन्।
वैज्ञानिकले तयार गर्ने सो नक्सामार्फत एक क्लिकमा आफूले चाहेको ठाउँको जलवायुको अवस्था थाहा पाउन सकिन्छ । यो एक क्लिकले नेपालको मात्र होइन, सार्क राष्ट्रकै जलवायुको अवस्थाबारे जानकारी लिन सकिन्छ । जलवायुले धान, गहुँ, मकै, मसुरो, दलहन, तेलहन, तरकारी, माछा तथा फलफूललगायतका बालीमा पारेको प्रभावबारे अध्ययन गरी नक्सा तयार गर्ने छ।
कृषि क्षेत्रमा बढ्दै गएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न यो डिजिटल मानचित्रले भूमिका खेल्ने नार्क अन्तर्गतका राष्ट्रिय कृषि वतावरण अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक अमरबहादुर पुनले बताए । यो परियोजना नेपालमा मात्र होइन, सार्कस्तरीय सबै देशमा लागु हुने उनले बताए।
अमेरिकाको बिल गेट्स फाउन्डेसनको आर्थिक सहयोगमा भारतको बिसा सिमिटले यो आयोजना सञ्चालन गरेको हो । सार्कस्तरीय एउटा छुट्टै वेबसाइट हुन्छ, जसमा सार्क देशका एउटा डिजिटल नक्सा राखिएका हुन्छ। त्यसबाट पनि आआफ्नो देशको जलवायुको अवस्थाबारे जानकारी लिन सकिन्छ । त्यसबाहेक देश अनुसार फरक फरक वेबसाइट हुन्छ, त्यसमा आआफ्नो देशको जलवायुको नक्साङ्कन गरी राखिने उनले जानकारी दिए।
त्यो नक्सामा जलवायुको जानकारी मात्र होइन, त्यसको समाधान पनि राखिने उनले बताए। कुनै जिल्लाको एक गाउँको जलवायुको अवस्था कस्तो छ भनी थाहा पाउनलाई नक्सामा क्लिक गरेपछि हुन्छ । त्यहाँ जलवायुको अवस्थाबारे जानकारी दिनुका साथै त्यसको समाधान र उपायबारे पनि लेखिएको हुन्छ । धान काट्ने बेला, तरकारी लगाउने बेला, गहुँ छर्ने बेला, पानी पर्ने बेलालगायतका हावापानीको नक्साङ्कन गरिएका हुन्छन् । जसले गर्दा किसानलाई बाली लगाउन सजिलो हुने विश्वास लिएको केन्द्र प्रमुख पुनले जानकारी दिए।
जलवायु परिवर्तनका कारण कृषिमा निकै क्षति हुने गरेको छ । मौसमबारे समयमा जानकारी नहुनु, हावापानीबारे किसान तथा अन्य सरोकारवालालाई समयमा जानकारी नहुँदा धनजनको क्षति हुने गरेको छ । त्यसलाई न्यूनीकरणका लागि सार्कस्तरीय आयोजना सुरु भएको छ । यो आयोजना तीन वर्षका लागि सुरु गरिएको छ । तीन वर्षमा सबै अध्ययन गरी वेबसाइटमा नक्सा राखेर सञ्चालनमा ल्याइने उनले बताए।
त्यसको तयारीका लागि दुई दिनदेखि दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) का कृषि वैज्ञानिकको सम्मेलन नेपालमा भइरहेको छ । सो सम्मेलनमा भारत, बङ्गलादेश, श्रीलङ्का र नेपालका कृषि वैज्ञानिक सहभागी छन् ।
सम्मेलनले जलवायु परिवर्तनले कृषि तथा पशुपन्छी क्षेत्रमा पारेको असर न्यूनीकरण र अनुकूलनताका उपायबारे छलफल गरिरहेको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले जानकारी दिए। जलवायु परिवर्तनका कारण सार्क राष्ट्रमै कृषिमा चुनौतीमा थपिएको निष्कर्ष निकाल्दै यसका लागि संयुक्त रूपमा लड्नुपर्ने आवश्यकता रहेको उनले बताए । गोरखापत्रबाट
प्रकाशित: ३० मंसिर २०८०, शनिबार