विराटनगरबाट विद्यार्थीले सुरु गरे क्षुद्रग्रह खोज

  • Technology Khabar | २४ मंसिर २०८०, आईतवार
विराटनगरबाट विद्यार्थीले सुरु गरे क्षुद्रग्रह खोज

काठमाडौं ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको संयुक्त आयोजनामा दुई दिने “क्षुद्रग्रह खोज तालिम” विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा सम्पन्न भएको छ।

तालिममा विराटनगर महानगरपालिका विराट बहिरा माध्यमिक विद्यालय, सेन्ट मेरिज माध्यमिक विद्यालय, दिल्ली पब्लिक स्कुल, सत्यनारायण माध्यमिक विद्यालय लगायत १७ विद्यालयका ३७ छात्रा र ४३ छात्र गरी ८० विद्यार्थीको सक्रिय सहभागिता रहेको नासोका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए।

दुई दिने तालिममा विद्यार्थीले कम्प्युटरको प्रयोग गरी अमेरिकाको हवाईस्थित प्यानस्टार टेलिस्कोपले खिचेको तस्विरको विश्लेषण गर्दै क्षुद्रग्रह खोज्ने सीप सिकेका थिए । त्यस्तै खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी विद्यालय तहका विभिन्न कार्यक्रमबारे जानकारी लिए ।

तालिममा केही विद्यालयका शिक्षकको पनि सहभागिता थियो । तालिममा नासोका अध्यक्ष भट्टराईले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

त्यस्तै, ओशन शर्मा कट्टेल, उदिप पोखरेल, सुवर्ण प्याकुरेल, सृजनप्रसाद रौनियार, आर्य रिजाल, आदित्य झाले तालिममा सहजीकरण गरेका थिए। तालिममा विराट बहिरा माध्यमिक विद्यालयकी शिक्षिका शोभा प्याकुरेलले दोभाषेको भूमिका निर्वाह गरेका थिईन्।

तालिममा सहभागी विद्यार्थीले सन् २०२४ को जनवरी ५ देखि ३० सम्म सञ्चालन गरिने राष्ट्रिय क्षुद्रग्रह खोज अभियानमा नासोको सिफारिसमा सहभागी भई यस तालिममा सिकेको सीप परीक्षण गर्नेछन्।

कार्यक्रमको समापन सत्रमा विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाले तालिमले विद्यार्थीमा खगोल विज्ञानको खोज अनुसन्धानमा रुचि बढाएको बताए। युवालाई यस क्षेत्रतर्फ लाग्न प्रोत्साहन गर्न महानगरमा खगोल तथा अन्तरिक्ष विज्ञानको विकासको लागि विराटनगर महानगरपालिकाले तारामणडल (प्लानेटोरियम) निर्माण र खगोल विज्ञानको क्षेत्रमा रूचि राख्ने विद्यार्थीका लागि सहयोग गर्न तयार रहेको प्रतिबद्धता उनले जनाए।

नेपालमै पहिलोपटक स्थानीय तहमा खगोल एवं अन्तरिक्ष विज्ञान प्रवद्र्धनका निम्ति विराटनगर महानगरपालिकाले खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समिति गठन गरेको छ ।

यस खालको समिति बनाई काम गर्ने नमुना अभ्यास नेपालका अरू पालिकाले आत्मसात गरे खगोल तथा अन्तरिक्ष विज्ञानको प्रचार–प्रसार, विकास तथा प्रवद्र्धनमा विश्वस्तरमा आफ्नो पहिचान बनाउने नासोले जनाएको छ। रासस

प्रकाशित: २४ मंसिर २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...