
काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले (सेबोन) निश्चित कम्पनीको सेयर खरिदबिक्री गर्न उक्साउने उद्देश्यले संचार माध्यम तथा सामाजिक सञ्जालमा सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ।
यदि सेबोनको आग्रहका बाबजूत सेयर खरिदबिक्री गर्न उक्साउने उद्देश्यले संचार माध्यम तथा सामाजिक सञ्जालमा सूचना सम्प्रेष गरेमा धितोपत्र सम्बन्धी एने, २०६३ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
सेबोनको सूचनामा लेखिएको छ, ‘विभिन्न संचार माध्यम तथा फेसबुक, युट्युब, क्लबहाउस् जस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनाधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको सम्बन्धमा बोर्डमा गुनासो तथा उजुरीहरु प्राप्त भएको प्रति बोर्डकोगम्भिर ध्यानाकर्षण भएको छ।’
‘धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यहोरा जानकारी गराउँदै संचार माध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरु खरिद तथा विक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा संचालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन तथा त्यस्ता कार्यहरु अविलम्व रोक्न सूचित गरिन्छ। यो सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाईएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराउँदै विगतमा समेत यस्तो किसिमको कामकारवाही भए नभएको सम्बन्धमा बोर्डले सुक्ष्म निगरानी गरिरहेको छ र बजार प्रभावित बनाउने कार्य भएको देखिएमा कानुन बमोजिम कारवाहि अगाडि बढाईने व्यहोरा समस्त लगानीकर्ताहरुलाई गराउदैं कसैको उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न अनुरोध छ।’
प्रकाशित: २४ मंसिर २०८०, आईतवार