
काठमाडौं ।
नेकपा एमालेका सांसद गोकुल प्रसाद बास्कोटाले ६ वर्षपछि सरकारको स्वामित्वमा आउने एनसेल आजियाटा लिमिटेडले यसबाट बच्नका लागि हाल शेयर किनबेच गरेको आरोप लगाएका छन्।
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सांसद बास्कोटाले आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा ६ वर्षपछि सरकारको स्वामित्वमा आउने कम्पनीले त्यसबाट बच्न यस्तो गरेको बताए।
उनले ऐनअनुसार २५ वर्षपछि स्वतः सरकारको अधिनमा आउने अवस्था रहेको भन्दै यसअघि पनि टेलियासोनेराले एनसेलको सेयर आजियाटालाई बेच्दा पूँजीगत लाभकर नतिरेको उल्लेख गरे।
“त्यसबेला पनि एनसेलकाे सेयर खरिदबिक्री हुँदा टेलियासोनेरालाई लाभकर नतिराईएकाे हो। लाभकर बेच्नेले तिर्ने हाे। तत्कालिन समयमा आजियाटालाई तिराईयो। अहिले त्यही व्यवस्थामा रहेर सेयर किन बेच भएकाे देखिन्छ,” उनले भने।
समितिले आज एनसेलको हालैको शेयर कारोबारको विषयमा सरोकारबालाहरुसँग छलफल गरिरहेको छ।
प्रकाशित: २० मंसिर २०८०, बुधबार