एनसेल खरिद–बिक्री बारेमा तत्काल छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

Technology Khabar १९ मंसिर २०८०, मंगलवार

एनसेल खरिद–बिक्री बारेमा तत्काल छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष
तस्बिर: प्रदीपराज वन्त/प्रधानमन्त्री सचिवालय

काठमाडौं ।

सत्तारुढ गठबन्धनको आज बसेको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेलको शेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकाल्दै गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरेको हो।

यसैगरी एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको भन्दै नेपाल सरकारका सम्बन्धित निकायले गम्भीरतापूर्वक लिएर छानबिन गर्नेुपर्ने ठहर गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अनुकुल खरिद–बिक्री नभएको बताए।

उनले भने, ‘‘एनसेलको शेयर खरिद–बिक्री लगायतका जुन कुरा आएका छन्, यो अत्यन्त गम्भीर छ। त्यो नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने जुन बाध्यात्मक कानुनी व्यवस्था छ, त्यस अनुकुल भएको छैन। जति पनि गतिविधि भएका छन्, ती शंकास्पद छन्। त्यसमा प्रश्न उठेका छन्।’’

उनले यो विषयमा प्रधानमन्त्रीसमेत गम्भीर भएको जानकारी दिए। प्रमुख सचेतक लेखकले एनसेल शेयर खरिदबिक्रीका बारेमा मन्त्रिपरिषद्ले पनि निर्णय गर्ने र सरकारका निकायहरुले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर छानबिन र अध्ययन गर्ने उल्लेख गरे।

‘‘यसलाई देशको हित र नेपालको प्रचलित कानुन बमोजिम अध्ययन गर्ने कुरा भएको छ,’’ लेखकले भने।

हालै मलेसियन कम्पनी आजियटा ग्रुप बर्हादले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व बेलायती कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बेच्ने निर्णय गरेको थियो। खरिद गर्ने कम्पनी नेपाली मूलका व्यवसायी सतिशलाल आचार्यको स्वामित्वमा रहेको छ।

प्रकाशित: १९ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया