नेपाली बजार चुनौतीपूर्ण भएको बताउने आजियाटाले पछिल्लो दुई वर्षमा एनसेलबाट लग्यो करिब साढे ८ अर्ब लाभांश

  • Technology Khabar | १७ मंसिर २०८०, आईतवार
नेपाली बजार चुनौतीपूर्ण भएको बताउने आजियाटाले पछिल्लो दुई वर्षमा एनसेलबाट लग्यो करिब साढे ८ अर्ब लाभांश
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

-निर्दोष घोरसाइने

स्पेक्ट्रलाइट यूके लिमिटेडलाई एनसेल आजियाटा लिमिटेडको सेयर बेचेको आजियाटा ग्रुप बर्हादले पछिल्लो दुई वर्षमा नेपालबाट करिब साढे ८ अर्ब रुपैयाँ लाभांश लगेको देखिन्छ।

उद्योग विभागको तथ्यांकअनुसार एनसेल आजियाटाले आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ७० करोड रुपैयाँ र आव २०७८/७९ मा ३ अर्ब ६५ करोड रुपैयाँ गरी कुल ८ अर्ब ३५ करोड रुपैयाँ लाभांश लगेको छ।

आव २०७७/७८ को तुलनामा आव २०७८/७९ मा एनसेल आजियाटाले नेपालबाट लगेको लाभांश १ अर्ब ५ करोड रुपैयाँ २२.३४ प्रतिशतले घटेको छ।

२०७२ चैतमा स्वीडेनको कम्पनी टेलिया सोनेराको ८० प्रतिशत सेयर किनेर आजियाटा ग्रुप एनसेलमा भित्रिएको थियो। आजियाटाले टेलिया सोनेराको सेयर खरिद गर्दा एनसेलको मूल्यांकन एक खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी गरिएको थियो।

आजियाटा बोर्डले नेपालको एनसेलका कारण समूहले घाटा व्यहोरेको भन्दै स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ५० मिलियन अमेरिकी डलरको मूल्यमा बिक्री गरेको छ। जसमा ६ महिनाभित्र करिब ५ मिलियन डलर दिनुपर्नेछ भने बाँकी ४८ महिनाभित्र बाँकी ४५ मिलियन डलर भुक्तानी गर्नेछ। यस बाहेक अन्य दायित्वहरु समेत शेयर किनेको नयाँ कम्पनीले सकार्नुपर्ने देखिएको छ।

सात वर्ष अघि खरिद गरिएको मूल्यबाट करिब ७३ अर्ब रुपैयाँ घाटा खाएर आजियाटाले एनसेलबाट आफ्नो सेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको देखिन्छ।

हालको मूल्यांकनअनुसार कम्पनीको मूल्य करिब ६ अर्ब ६८ करोड रहेको देखिन्छ। तर आजियाटाले अन्तिम पटकको लाभांश नै ३ अर्ब ६५ करोड लगेको छ। यसले गर्दा पनि यो किनबेचमा आशंका गरिएको हो।

आजियाटाको सेयर किन्ने स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन्। स्पेक्ट्रलाइट यूके केहि महिनाअघि मात्र १ डलरमा खोलिएको बेलायती कम्पनी हो।

एनसेलमा ८० प्रतिशत लगानी विदेशी हुँदा २५ वर्षे अनुमति पत्रको प्रावधानले असर पार्ने देखेपछि कम्पनीले सेयर बेचेको अनुमान गरिएको छ। तर कम्पनीले भने यस बारेमा केहि बोलेको देखिँदैन्।

दूरसञ्चार ऐनको दफा ३३ मा दूरसञ्चार कम्पनीमा जम्मा पूँजीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुने व्यवस्था गरेको छ।

एनसेलको अनुमति पत्र अझै ६ वर्ष बाँकी छ।

एनसेलको खरिद बिक्रीलाई स्वभाविक मानेका दूरसञ्चार क्षेत्रका एक जानकारकाअनुसार भने दूरसञ्चार ऐनको प्रावधानलाई छल्न मात्र यो खरिद बिक्री गरिएको हो।

“ऐनको २५ वर्षे प्रावधानलाई परिवर्तन गर्न धेरै पटक प्रयास र दूरसञ्चार प्राधिकरणमार्फत प्रस्तावनै गरिएको थियो। तर सफल भएन्,” ती जानकारले भने, “यसले गर्दा स्थानीय लगानीकर्तालाईनै बेचेर लाइसेन्स अवधि बिस्तार गरेपछि फेरी लगानी फिर्ता आउनसक्ने बाटो राखिएको हो।”

उनकाअनुसार वार्षिकरुपमा ३/४ अर्ब लाभांश फिर्ता लगिरहेको आजियाटाले लगानीबाट घाटा लाग्यो भन्नु उचित हुँदैन्।

आजियाटाको प्रवेशसँगै एनसेलको राजश्व घट्दो

आजियाटा समूह टेलिया सोनेराको सेयर किनेर नेपालमा प्रवेश गरेदेखि नै एनसेलको आम्दानी निरन्तर रुपमा घट्दै गएको कम्पनीको वित्तीय विवरणमा देख्न सकिन्छ।

आजियाटा समूह एनसेलमा प्रवेश गरेका वर्ष सन् २०१६ मा एनसेलले कुल ५८ अर्ब ६५ करोड १० लाख रुपैयाँ राजश्व संकलन गरेको थियो। आजियाटा नेपाल प्रवेश गरेको वर्षको तुलनामा गत वर्ष सन् २०२२ मा आइपुग्दासम्म एनसेलको राजश्व ३२.१ प्रतिशतले घटेको देखिन्छ।

सन् २०१७ मा एनसेलले ५८ अर्ब ५ करोड ४० लाख राजश्व संकलन गरेको थियो। सन् २०१८ मा एनसेलको राजश्व ५७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ थियो। सन् २०१९ मा एनसेलले ५४ अर्ब १६ करोड १० लाख रुपैयाँ राजश्व संकलन गरेको छ।

सुरुवाती तीन वर्षमा थोरै रकमले एनसेलको राजश्व घट्न सुरु भएको थियो। तर २०२० मा आईपुग्दा एनसेलको राजश्व आजियाटा नेपाल भित्रिएको वर्षको तुलनामा करिब १७ अर्ब रुपैयाँले राजश्व घटेको देखिन्छ। सन् २०२० मा एनसेलको राजश्व ४१ अर्ब ९२ करोड ८० लाख रुपैयाँ थियो।

२०२१ मा थोरैले घटेर एनसेलको राजश्व ४१ अर्ब ४५ करोड रुपैयाँ आएको थियो। गत वर्ष सन् २०२२ मा एनसेलको राजश्व ३९ अर्ब ८१ करोड रुपैयाँमा सिमित भएको थियो।

सन् २०२३ को तेस्रो त्रैमासिकसम्म एनसेलले २८ अर्ब २७ करोड राजश्व संकलन गरेको छ।

किन्ने र बेच्नेले के भने

आजियाटा बोर्डले नेपालको एनसेलका कारण समूहले घाटा व्यहोरेको भन्दै सेयर बेच्ने निर्णय पुगेको बताएको छ।

“नेपालको दृष्टिकोण बढ्दो चुनौतीपूर्ण छ, त्यसैले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको छ र तदनुसार एनसेललाई बिक्रीको लागि राखिएको सम्पत्तिको रूपमा पुनः वर्गीकरण गरेको छ। हामी विश्वास गर्छौं कि यो कदमले आजियाटालाई हाम्रा रणनीतिक प्राथमिकताहरू पूरा गर्न अझ बलियो स्थितिमा ल्याउनेछ र यो हाम्रा सबै सेयरधनीहरूको उत्कृष्ट दीर्घकालीन हितमा छ,” गत बुधबार बोर्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

यस्तै सरकारले पटकपटक निर्धारण गरेको करका लागि सम्पूर्ण रकम भुक्तानी गर्दा दोहोरो कर परेको र आफूले खरिद गरेको मूल्यको ६२ दशमलव ७ प्रतिशत कर तिर्नुपर्ने अवस्था तत्कालिन समयमा भएको आजियाटाले उल्लेख गरेको छ।

यस्तै स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य भनेका छन्, “एनसेलको सेयर होल्डिङको लागि यो सम्झौताको घोषणा गर्न पाएकोमा स्पेक्ट्रलाइट निकै खुसी छ। दूरसञ्चार क्षेत्रको मेरो वृहद अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौ ग्राहकलाई विभिन्न परिस्कृत सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं।”

एनसेलमा हाल बाँकी २० प्रतिशत सेयर लगानी रहेको सुनिभेरा क्यापिटल भेन्चर प्रालिमा पनि आचार्य परिवारको स्वामित्व रहेको छ।

एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरी २५ हजार रोजगारी सृजना गरेको र १ करोड ७० लाख ग्राहकलाई सेवा दिएको पनि जनाएको छ।

कम्पनीकाअनुसार आजियाटा आएदेखि हालसम्म देशभित्र करिब २८३ अर्ब रुपैयाँ विभिन्न करहरु र दस्तुरको रुपमा तिरेको छ।

प्रकाशित: १७ मंसिर २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार