Technology Khabar ११ मंसिर २०८०, सोमबार
काठमाडौं ।
विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (कृतिम बौद्बिकता (एआई) को बारेमा चर्चा भईरहेको सन्दर्भमा यसको बारेमा नीति नियमको विषयमा पनि छलफल हुँदै आएको छ। नेपालमा पनि यसलाई कसरी सदुपयोग गर्ने र यसको लागि उपयुक्त नीति बनाउनुपर्ने भन्ने बारेमा बहस शुरु भएको छ।
युनेस्कोले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, काठमाडौं विश्वविद्यालय र डिजिटल राइट्स नेपालसँग मिलेर आर्टिफिसियल इन्टेलिजेन्स-गभर्नेन्स इन नेपाल विषयक छलफल आयोजना गरेको छ। सोमबार आयोजित उक्त छलफलमा नेपालमा पनि विभिन्न रुपमा एआईको प्रयोग बढिरहेको भन्दै त्यसलाई सरकारी निकायहरुले यसको उपयोग र आफ्ना कार्यहरुमा ल्याउन अझै चुनौती रहेको बताएका छन्।
कार्यक्रममा बोल्दै सञ्चार सचिव कृष्णबहादुर रावतले विश्वभर अहिले एआईको शुरुवाती छलफल भईरहेको भन्दै यसले मानव समुदायलाई कता लान्छ र यसको प्रभाव कति हुन्छ भन्न नसकिने बताए। उनले हाम्रो जस्तो मुलुकमा एआईको प्रयोग गर्ने विषय र त्यसका असरहरुबारे हेरिनुपर्ने स्पष्ट पारे।
“एआईको बारेमा संसार भर शंका र उपशंका रहेको छ र हामी मध्य बाटोमा छौं र यसको बारेमा थप छलफल हुनुपर्छ,” उनले भने, “यसलाई (सरकारी निकायहरुमा) कसरी प्रयोग गर्न सकिन्छ। त्यहि अनुसार नीति, नियम र कानून बनाउनुपर्ने हुन्छ।”
उनले भविश्यमा यसले उदार लोकतन्त्रमा पनि असर पार्नसक्ने भन्दै यसले सबै क्षेत्रमा परिवर्तन गराउन सक्ने बताए।
यसैगरी कार्यक्रममा बोल्दै काठमाण्डौं विश्वविद्यालयकी स्कूल अफ आर्टकी निमित्त डिन इकुमाया पुनले एआईले धेरै संभावना देखाएको र साथमा चुनौतीहरु पनि ल्याएको बताईन्। उनले विश्वविद्यालयले एआईको महत्व बुझेर नै यसको अध्ययन अध्यापन गराउँदै आएको बताईन्।
“यसले अभिव्यक्ति स्वतन्त्रताका साथै अन्य क्षेत्रलाई पनि असर पार्ने देखिन्छ। सबै सरोकारबाला मिलेर यसको प्रयोगको आचार संहिताका साथै नियमनको बारेमा पनि ध्यान दिनुपर्छ,” उनले भनिन्।
युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्रफ्टले एआईको सामाजिक प्रभावको बारेमा अध्ययन गरिनुपर्ने भन्दै प्रविधिले समाजलाई कसरी प्रभावित तुल्याउँछ र एआईले ल्याउने रुचीका साथै चुनौतीलाई पनि हेरिनुपर्ने बताए।
कार्यक्रममा बोल्दै डिजिटल राइट्स नेपालका अध्यक्ष टक अर्यालले एआईको फाइदाबाट नेपाल र नेपाली बन्चित हुन नहुनेमा सचेत गराए।
“यसबाट आधारभूत अधिकार रक्षा समेत गरिनुपर्दछ। र एआईको लागि गाइडलाइन बनाउनुपर्दछ। नेपाल एआईमा कहाँ छ र कसरी अगाडि बढ्ने हो भन्ने नीति नियम तय गरौं,” उनले भने।
कार्यक्रममा अन्य वक्ता तथा प्यानलिस्टहरुले नेपालमा एआईको प्रयोग विभिन्न रुपमा हुँदै आएको भन्दै त्यसलाई सरकारी कार्यहरुमा पनि उपयोगमा ल्याउनुपर्ने बताए। उनीहरुले नेपालमा ठूला एआईका प्रयोगहरु भन्दा साना साना क्षेत्र र कार्यहरुबाट शुरु गरिनुपर्नेमा जोड दिएका थिए।
प्रकाशित: ११ मंसिर २०८०, सोमबार