Technology Khabar ६ मंसिर २०८०, बुधबार
काठमाडौं ।
सरकारले प्रतिबन्ध लगाईएको टिकटकको प्रयोग गर्न फ्रि भिपिएन र ओपन डिएनएसको प्रयोग भईरहेकोमा चिन्ता व्यक्त गर्दै त्यस्तो कार्य नगर्न अनुरोध गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा प्रकाशित प्रेस विज्ञप्तीमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णयको जनस्तरबाट व्यापक समर्थन भइरहेको दाबी गर्दै समाजमा देखिन थालेको विषाक्त मनोविज्ञान र मानव स्वास्थ्यमा देखिन थालेका नकारात्मक असरप्रति सबै गम्भीर र संवेदनशील हुन आवश्यक भइसकेको बताईएको छ।
मन्त्रालयले हाम्रा सबै नियम, कानुन र निर्णयहरु पारिवारिक एकता र सामाजिक सद्भाव कायम गर्ने मूल मान्यतामा आधारित हुने भएकाले यसको संरक्षण र कार्यान्वयन गर्नु सरकारको दायित्व भएको स्पष्ट पार्दै भनेको छ, “नागरिकको सुरक्षा सरकारको अर्को महत्वपूर्ण दायित्व हो । एकातिर नागरिकको गोपनीयताको संरक्षण गर्दै राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्नुपर्ने दायित्व छ भने अर्कोतिर साइबर अपराधका घटना न्यून गर्दै नागरिकको जीउधनको सुरक्षा कायम गर्नुपर्ने अभिभारा छ।”
यसैगरी समाज र खासगरी नयाँ पुस्तालाई कस्तो बाटोमा अघि बढाउने भन्ने पनि अहम् सवाल भएको हुँदा समाजमा देखिन थालेको विषाक्त मनोविज्ञान र मानव स्वास्थ्यमा देखिन थालेका नकारात्मक असरप्रति सबै गम्भीर र संवेदनशील हुन आवश्यक भइसकेको विज्ञप्तीमा उल्लेख छ।
“संविधान प्रदत्त मौलिक हकको संरक्षण गर्नु सरकारको आधारभूत दायित्व हो, यसअन्तर्गत सूचनाको हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक र सञ्चारको हक प्रत्याभूत गर्न सरकार दृढ संकल्पित छ। सत्य सूचनाको सही सम्प्रेषणले मात्रै संविधानका मौलिक हकको संरक्षण र कार्यान्वयन गर्न सहज हुने यथार्थप्रति गम्भीर बन्दै गलत र भ्रामक सूचनालाई निरुत्साहित गर्नु पनि सरकारको दायित्व हो।”
यसका साथै मन्त्रालयले सामाजिक सद्भाव र नागरिक सुरक्षालाई ध्यानमा राखेर इन्टरनेट सेवा प्रदायकले डीएनएस र आईपी एड्रेसमार्फत टिकटकको वेबसाइट बन्द गरे पनि कतिपय प्रयोगकर्ताले फ्रि भिपिएन र ओपन डीएनएसमार्फत टिकटक चलाउने गरेको पाइएको भन्दै त्यस्तो नगर्न अनुरोध गरेको छ।
“फ्रि भिपिएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, मालवेयर क्रियाकलाप बढ्ने, गोपनीयता सुरक्षित नहुने, ईमेल अकाउन्ट ह्याक हुने, इन्टरनेट स्पिड घट्न जाने, बैंक खाताबाट पैसा चोरी हुने, कसैको ब्ल्याकमेलमा परिनेजस्ता जोखिम बढ्ने भएकाले यस्ता नेटवर्क प्रयोग नगर्न सबैमा हार्दिक अनुरोध गरिन्छ।”
हेर्नुस् विज्ञप्ती-

प्रकाशित: ६ मंसिर २०८०, बुधबार