Technology Khabar ६ मंसिर २०८०, बुधबार
काठमाडौं ।
चीनको सर्च इन्जिन जायन्ट बाइदूले २०२३ को तेस्रो त्रैमासमा ३४.५ बिलियन चिनियाँ युआन (४.७२ बिलियन अमेरिकी डलर) राजश्व संकलन गरेको छ।
चिनियाँ अर्थतन्त्र रिकभरीको चरणमा रहेकाले बलियो विज्ञापन आम्दानीले बाइदूको राजश्वमा सकारात्मक प्रभाव पारेको रोयटर्सले उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले यस महिनाको सुरुमा चीनको अर्थतन्त्र ५.४ प्रतिशतले वृद्धि हुने बताएको थियो। यस अघि मुद्रा कोषले ५ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको थियो। अर्थतन्त्र सुधार उन्मुख हुँदा कम्पनीहरुले उपभोक्ता लक्षित विज्ञापनमा धेरै खर्च गरेका छन्।
अमेरिकामा सूचिकृत बाइदूको सेयर मूल्य पनि केही बढेको रोयटर्सले उल्लेख गरे.को छ।
पछिल्ला केही वर्षहरुमा बाइदूले एआईमा ध्यान केन्द्रित गरिरहेको छ। कम्पनी सेल्फ–ड्राइभिङ सवारी र जेनेरेटिभ एआईमा ठूलो लगानी गरिएको छ। बाइदूको जेनेरेटिभ एआई टेक्स्ट, इमेज र अन्य मिडिया सिर्जना गर्न सक्षम छ।
गत महिना बाइदूले आफ्नो जेनेरेटिभ एआई मोडेल, एर्नी ४.० को नयाँ भर्सन सार्वजनिक गरेको थियो। यसको क्षमताहरू च्याटजीपीटी निर्माता ओपनएआईको पायोनियर जीपीटी–४ मोडेल बराबर रहेको दाबी गरिएको छ।
बाइदूको अनलाइन मार्केटिङ राजश्व तेस्रो त्रैमासिकमा ५ प्रतिशतले बढेर १९.७ बिलियन युआन पुगेको छ।
त्रैमासिक अवधिमा बाइदूले ७.२७ बिलियन युआनको समायोजित खुद आय रिपोर्ट गरेको छ। यो गत वर्षको सोही अवधि ५.८९ बिलियन युअनको तुलनामा २३ प्रतिशत बढी हो।
कम्पनीले प्रतिसेयर २०.४ युआन प्रति अमेरिकन डिपोजिटरी शेयर (एडीएस)को समायोजित नाफा रिपोर्ट गरेको छ। गत वर्ष यस्तो १६.८७ युआन प्रति शेयर नाफा थियो।
प्रकाशित: ६ मंसिर २०८०, बुधबार