टिकटक प्रतिबन्ध विरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

Technology Khabar ५ मंसिर २०८०, मंगलवार

काठमाडौं ।

सरकारी टिकटक प्रतिबन्ध विरुद्धको रिटमा आज सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मङ्गलबार सुनुवाइ गर्दै कारण देखाउ आदेश दिएको हो।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १४ ओटा रिट दर्ता भएका थिए। उक्त रिटहरुमाथि सोमबार प्रारम्भिक सुनुवाइ हुने भनिएको थियो। सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो।

यसअघि टिकटकमाथि प्रतिबन्ध लगाउने मन्त्रीपरिषदको निर्णय खारेजीको माग गर्दै मङ्सिर १ गते सर्वोच्चमा १० ओटा रिट दर्ता भएका थिए । जसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू त्रिलोकबहादुर चन्द, प्रेम सिलवाल, अनन्तराज लुइँटेल, डा.सुनिलरञ्जन सिंह,  यज्ञमणि न्यौपाने र फर्सुराम पाण्डेलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए।

यसैगरी सोमबार थप ४ ओटा रिट सोही विषयमा दायर भएका थिए।

इजलासले ती सबै रिट निवेदनलाई एकै इजलासमा सुनुवाई गरेको हो।

रिटमा सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी पूर्ववत् अवस्थामा टिकटक चल्न दिन अन्तरिम आदेशको माग गरिएको छ। तर इजलासले अन्तरिम आदेश जारी नगरी कारण देखाउ आदेश मात्र दिएको छ।

कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रकाशित: ५ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया