Technology Khabar ४ मंसिर २०८०, सोमबार
काठमाडौं ।
एस्ट्रोनोभा फाउन्डेसन नेपालको आयोजनामा हेटौंडामा पहिलो पटक “हेटौंडा ईन्जिनियर्स मिटअप #१ २०८०” सम्पन्न भएको छ।
स्टुडेन्ट डेको अवसर पारेर गरिएको सो भेलामा इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रोनिक्स, इलेक्ट्रिक, मेकानिकल, सूचना प्रविधि, कम्प्युटर, आइटी सेक्युरिटी, इन्ड्रस्टियल, केमिकल, अटोमोबाइल आदि क्षेत्रका साथै विज्ञान प्रविधिका अन्य क्षेत्रमा बि.टेक, फरेस्ट्री, कृषि, एक्चुरिएल साईन्स, आर्किटेक्ट, मेडिकल साईन्स लगाएतका विभिन्न क्षेत्रमा स्नातक पास भईसकेका तथा पढ्दै गरेका ६०+ विद्यार्थी युवाशक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा एस्ट्रोनोभा फाउण्डेशन नेपालका अध्यक्ष किशन बास्तोलाले विज्ञान, सुचना प्रविधि, नवप्रवर्तन, उद्यमशीलतालगायतमा बालबालिकाहरुलाई विद्यालयस्तरदेखि नै अग्रसर गराउँदै उनिहरुमा दिर्घकालिन सोच, वैज्ञानिक सोच संस्कृति, नविनतम विचारधारा विकास गराई हेटाैँडालाई विज्ञान, प्रविधी, नवप्रवर्तनशीलता, उद्यमशीलता तथा शैक्षिक र पर्यटनका हिसाबले देशकै नमुना सहरका रुपमा विकास गराउन सकिने बताए।
आयोजककाअनुसार सो सम्मेलनमा हेटौंडालाई आईटी हबको रुपमा विकास गराउन कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा विचार विमर्श गर्दै फाउन्डेसनको पहिलो लक्ष्य अन्तर्गत प्रस्तावित Creativity and Innovation Workshop Laboratory(AFN Tinkering Lab) को बारेमासमेत छलफल गरिएको थियो।
यसका साथै मध्यकालिन र दिर्घकालिन लक्ष्यहरूको बारेमा बताउँदै सयौं विद्यार्थी एउटै प्लेटफर्ममार्फत सहकार्यमा अघि बढ्न सकिने र त्यसका लागी सबै विद्यार्थी अट्न सक्ने र जोड्न सकिने डिजिटल प्लेटफर्म निर्माण भईरहेको जानकारी समेत दिईएको थियो।
फाउन्डेशनले आफ्नो उद्देश्य अनुरुप वैज्ञानिक एवम् प्रविधिमय वातावरणका निम्ति रोबटिक्स एण्ड अटोमेसन, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्युचर टेक्नोलोजी, ड्रोन टेक्नोलोजि, रकेट एण्ड एभिएसन, वेदिक गणित, एष्ट्रोनोमी केन्द्रित कार्यशाला गर्दै आएको जानकारी दिएको छ।
यसअघि विद्यार्थीहरूलाई फिजिक्स, फिजिक्स इन एक्सन, म्याथ इन एक्सन, चन्द्रमा अवलोकन, नोबेल विजेता वैज्ञानिकहरूले हस्ताक्षर गरेको टेलिस्कोपबाट सोलार अवलोकन, ब्ल्याक होल, बिग ब्याङ थेउरी, थौरी अफ रिलेटिभिटी, (स्पेशल/जनरल) को बारेमा चर्चा परिचर्चा फरक फरक ठाउँमा लगेर खुला आकास मुनि कक्षाहरू मार्फत गरिएको थियो।
त्यस्तै इन्बेडेड सिस्टम तथा रोबोटिक्स अन्तर्गत सी प्रोग्रामिङ ल्याङ्ग्वेज, अटो ट्राफिक लाइट सिस्टम, भूकम्प मापन सिस्टम, होम अटोमेसन सिस्टम, वेस्ट म्यानेजमेन्ट सिस्टम (स्मार्ट डस्टबिन), ड्रोन, रकेट साईन्स, एभिएसन लगायतको विषयमा पनि विद्यार्थीहरुलाई प्रशिक्षण तथा कार्यशाला दिदै आईरहेको फाउण्डेशनले जनाएको छ।
फ्युचर टेक्नोलोजीतर्फ आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, अगमेन्टेड रियालिटी, भर्चुअल रियालिटी र डेटा सेक्युरिटी लगायतको विषयमा प्रशिक्षण दिइँदै आएको पनि फाउण्डेशनले जनाएको छ।
प्रकाशित: ४ मंसिर २०८०, सोमबार