
काठमाडौं ।
स्पेसएक्सले आफ्नो स्टारशिप रकेट सिस्टमको अन्तरिक्षमा प्रक्षेपण गर्ने दोस्रो प्रयासमा आंशिक सफलता हासिल गरेको छ।
स्टारसिपलाई अन्तरिक्षमा प्रक्षेपण गर्ने दोस्रो प्रयासअन्तरगत शनिबार बिहान स्थानीय समयअनुसार करिब ८ बजे सफलरुपमा आकाशमा उचालेको हो।
तर कम्पनीले पछि रकेटसँग सम्पर्क गुमाएको जनाएको छ।
यसअघि शुक्रबार परीक्षणको तयारी भएपनि प्रमुख कार्यकारी इलन मस्कले उडान नियन्त्रण हार्डवेयरको एक खण्डलाई परिवर्तन गर्नुपर्ने भएकाले प्रक्षेपण एक दिनका लागि स्थगित गरिएको बताएका थिए।
आजको प्रक्षेपण कम्पनीको स्टारबेस साइट मेक्सिकोको खाडी नजिकै बोकाचिका टेक्सासबाट गरिएको हो।
स्पेसएक्सले आफ्नो ४०० फिट अग्लो (१२२ मिटर) स्टारशिप रकेट सिस्टम अन्तरिक्षमा प्रक्षेपण गरेको हो। यसको सुपरहेभी बुस्टरको आधारमा ३३ र्याप्टर इन्जिनहरू छन्, जसले १६.७ मिलियन पाउन्ड थ्रस्ट उत्पादन गर्दछ। यो ८.८ मिलियन पाउन्ड थ्रस्टको नासाको स्पेस लन्च प्रणाली (एसएलएस) रकेटको दोब्बर हो, जुन गत वर्षको अन्त्यमा पहिलो पटक प्रक्षेपण गरिएको थियो।
यसैगरी १६५ फिट अग्लो रहेको स्टारशिपमा ६ ओटा र्याप्टर इन्जिनहरू छन्, जुन तीनवटा पृथ्वीको वायुमण्डलमा प्रयोगको लागि र तीनवटा अन्तरिक्षको खाली ठाउँमा काम गर्नका लागि राखिएका हुन्।
प्रक्षेपण सफलरुपमा भएको थियो भने स्टारसिप र बुस्टर योजनाअनुसार छुट्टिएका थिए। तर आकाशमा रहँदानै करिब १० मिनेटपछि पुनः अवतरणको समयमा भने सम्पर्क गुमाएपछि समस्या आएको थियो। त्यसपछि कम्पनीले लाइभ प्रशारण समेत बन्द गरेको थियो।
यो परीक्षण उडान सफल भएको अवस्थामा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको चन्द्रमामा मानिस पुर्याउने नयाँ विकल्प उपलब्ध हुनेथियो। स्टारशिप रकेट सिस्टमलाई अहिलेसम्मकै शक्तिशाली रकेटको रुपमा मानिएको छ।
यसअघि अप्रिलमा पहिलो प्रयासको क्रममा, स्टारसिप रकेट टेक्सासबाट उडेको लगभग चार मिनेटपछि आकाशमा विस्फोट भएको थियो।
प्रकाशित: २ मंसिर २०८०, शनिबार