
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले सरकारले प्रतिबन्ध लगाएको टिकटक कुनै इन्टरनेट सेवा प्रदायक वा मोवाइल सेवा प्रदायक कम्पनिको नेटवर्कबाट अझै पनि चलिरहेको भएमा सर्वसाधारणलाई जानकारी दिन भनेको छ।
प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै इन्टरनेट सेवाग्राहीहरुसँग टिकटकमा त्यस्तो पहुँच दिने कम्पनिको बारेमा जानकारी गराउन अनुरोध गरेको छ।
यसअघि नै नियामक निकाय दूरसञ्चार प्राधिकरणले टिकटकमा पहुँच बन्द गर्न भन्दै सबै इन्टरनेट सेवा प्रदायक वा मोवाइल सेवा प्रदायक कम्पनिलाई निर्देशन दिईसकेको छ।
नियामकले मन्त्रिपरिषद्को २०८० कात्तिक२७ गतेको बैठकबाट “सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसंचार ऐन, २०५३ को दफा १५ अनुसार निर्देशन दिएको हो।
तर उक्त निर्देशन समेत पालना नभएको आशंका गर्दै दूरसञ्चार प्राधिकरणले सेवाग्राहीहरुसँग सहयोग मागेको देखिएको छ।
दूरसञ्चार प्राधिकरणले त्यस्तो जानकारी भएमा कार्यालयको इमेलमा इमेल गरी त्यस्तो कम्पनिको बारेमा जानकारी गराउन अनुरोध गरेको हो।
यस्तो छ दूरसञ्चार प्राधिकरणले जारी गरेको सूचना- “नेपाल सरकार मन्त्रिपरिषद्को २०८०|०७|२७ गतेको बैठकबाट “सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन दिईसकिएको र सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीको लागि सूचना पनि प्रकाशन गरिसकिएकोमा प्राधिकरणको निर्देशनको कार्यान्बयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोवाइल सेवा प्रदायक कम्पनिको नेटवर्कबाट अझै पनि टिकटक (Tiktok) मा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भईरहेको भए प्राधिकरणको इमेल ठेगाना [email protected] मा इमेल गरी त्यस्तो कम्पनिको बारेमा जानकारी गराउनुहुन इन्टरनेट सेवाग्राहीहरुलाई अनुरोध गरिएको छ।”
प्रकाशित: २ मंसिर २०८०, शनिबार