इन्टरनेटको सुविधाले सूचना आदान–प्रदानको शैली फेरियो

  • Technology Khabar | २९ कार्तिक २०८०, बुधबार
इन्टरनेटको सुविधाले सूचना आदान–प्रदानको शैली फेरियो
सांकेतिक तस्बिर

काठमाडौं ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ वादुकका गोपाल खड्काथोकीले विदेशमा रहेका आफन्तदेखि छिमेकीलाई भिडियो कलबाट सूचना आदान–प्रदान र कुराकानी गर्न थालेका छन्।

सोही गाउँका ६० वर्षीय चुकबहादुर शेरपुञ्जाले पनि एन्ड्रोइड फोन र इन्टरनेटको सुविधा भएपछि सूचना आदान–प्रदानको परम्परागत शैली परिवर्तन गरेका छन्।

“गाउँमा सूचना प्रवाह गर्नुपर्दा पहिले कटुवाललाई घोक हाल्न (चिच्याउन) लगाउने चलन थियो”, वादुकको श्रीकृष्ण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका शेरपुञ्जाले भने, “अहिले फेसबुकको ग्रुप र पेजमा सूचना राख्ने गरिएको छ।”

इन्टरनेट भएपछि सस्तो र सजिलोरूपमा देश–विदेशमा रहेका आफन्त, साथीभाइसँग कुराकानी र सूचना आदान–प्रदान गर्न पाएको खड्काथोकीले बताए । “हामी सानो हुँदा विदेशबाट म घर आउँदैछु भनेर चिठ्ठी पठाउने व्यक्ति एक महिनामा चिठ्ठीभन्दा पहिले घर आइपुग्ने अवस्था थियो”, उनले भने, “अहिले विश्वको जुनकुनै ठाउँमा भएकालाई पनि भिडियो कलमा अनुहार हेरेर कुराकानी गर्न पाइएको छ।”

वादुकका बासिन्दाले सामूहिकरूपमा सबै घरमा इन्टरनेट जडान गरी प्रविधिमैत्री गाउँ बनाउने अभियान चलाएपछि सूचना आदान–प्रदानको शैली फेरिएको हो।

स्वदेश तथा विदेशमा रहेका वादुकवासीले करिब रु. आठ लाख जुटाएर इच्छुक ५० ओटा घरमा इन्टरनेट जडान गरिएको स्थानीय लोकेन्द्र गर्बुजाले बताए। “वादुकका दुई–तीनवटा बाहेक सबै घरमा सामूहिकरूपमा इन्टरनेट जडान भएको छ”, उनले भने, “अर्मपर्म, भेला, बैठकदेखि विवाह, छेवारको निम्ता गर्न पनि फेसबुक च्याट ग्रुप र पेजलाई प्रयोग गरेका छौँ ।”

वादुकमा जन्मिएर हाल बेलायतमा बसोबास गर्ने अर्जुन तिलिजाको अगुवाइमा ‘बेगखोला न्यूज’ नामको फेसबुक पेज सञ्चालन भएको छ। सो पेजमा बेगखोलामा हुने हरेक गतिविधिको सूचना राखिन्छ। कुनै विषयमा बहस र छलफल हुन्छ। विकास निर्माण र सामाजिक कामका लागि सुझाव सङ्कलन गर्न तथा भएका गतिविधिको प्रचार–प्रसार गर्न सोही फेसबुक पेजको प्रयोग गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले बताए।

वादुकमा इन्टरनेट जडानका लागि सङ्कलित रकममध्ये तार, राउटर र जडान खर्चबाट बचेको रु. एक लाख ५० हजार कोषमा राखिएको छ। प्रतिघर रु दुई हजार आठ सय शुल्क तिरेर इन्टरनेट जडान गरेका थिए।

मासिक रु सात सय ५० शुल्क उठाउने गरिएको वादुक इन्टरनेट अभियानका नगेन्द्र गर्बुजाले बताए।

समाचारका लागि सञ्चारमाध्यमको अनलाइन, फेज र युट्युव च्यानलबाट समाचार सुन्ने, हेर्ने र पढ्ने गर्दछन्। युट्युवमा आफूलाई मन पर्ने गीत, चलचित्र हेरेर ज्येष्ठ नागरिकले रमाइलो गर्दछन्।रासस

प्रकाशित: २९ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार