
काठमाडौं ।
टिकटक प्रतिबन्ध गर्ने बारेको निर्णय बचाउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्पष्टिकरणमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोष प्रकट गरेका छन्। यसका साथमा सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएकोमा पछिल्लो समय विवाद निम्तिएको छ।
प्रधानमन्त्री प्रचण्डले भक्तपुरमा नेपाल संवत् ११४४ का अवसरमा आयोजित कार्यक्रममा सबै दलको सहमतिमा सामाजिक सद्भाव र पारिवारिक एकता खलल हुनबाट बचाउन टिकटकमा प्रतिबन्ध लगाउनुपरेको बताएका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको बारेमा कांग्रेस महामन्त्री थापाले टिकटक बन्द गर्ने पार्टी प्रमुखहरूको लहडी निर्णय भएको आरोप लगाएका छन्।
उनले सामाजिक संजाल एक्समा आफ्नो धारणा सार्वजनिक गर्दै सो भनेका हुन्। उनले सहमति कहिले र कहाँ भएको भन्ने प्रश्न गर्दै पूर्व प्रधानमन्त्रीज्यूहरूको क्लबमा भएको समझदारी हो पार्टीहरू बिचको नभएको स्पष्ट पारेका छन्।
उनले आफ्नो दल सरकारमा भएपनि त्यस्तो निर्णयको विरोधगरिने बताएका छन्।
उनले एक्समा लेखेका छन्,- “प्रधानमन्त्रीले भन्नुभएछ- ‘सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो।’ प्रमज्यूलाई प्रश्न छ, कुन सहमति? हाम्रो पार्टी नेपाली कांग्रेस सँग कहाँ र कहिले भयो छलफल? कहाँ भयो सहमति? कहिले,कसले गर्यो सहमति? १)प्रमज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरूको क्लबको बन्द कोठाका बैठकमा हुने सम्झौता पार्टीहरूको बिचमा भएको सहमति नभन्नुहोस्, नभन्ठान्नुहोस्। यो तपाईँहरू बिचको समझदारी हो पार्टीहरू बिचको होइन। पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ। अतः पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौ पार्टीले बोक्न सक्दैन। २)यहीँ प्रसङ्गमा कति साथीहरूले, ‘सरकारले गर्ने निर्णयको सत्ता पक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल्छ?’ भन्ने कुरा उठाउनु भएको छ। त्यसको उत्तर हो, मिल्छ। गलतको विरोध, प्रतिरोध सबै गर्न मिल्छ, गर्नुपर्छ। हिजो पनि गलतलाई गलत भनेका हौं,आज पनि र भोली पनि भन्छौं। सत्तामा हुँदा गलत पनि ठिक र त्यही कुरा प्रतिपक्षमा हुंदा गलत भन्ने हुंदैन। बरु,सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्ता पक्ष भनेर मौन बस्नु चाहिँ गलत हो। ३)जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ हेरिँदैन। हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले-जहिले अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौँ, उभिइरहने छौं। हिजो त्यहीँ काम अरूले गर्दा गलत, हामीले गर्दा सही हुँदैन।”
प्रधानमन्त्रीले भन्नुभएछ- 'सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर टिकटक बन्द गर्ने निर्णय गरिएको हो।'
प्रमज्यूलाई प्रश्न छ, कुन सहमति? हाम्रो पार्टी नेपाली कांग्रेस सँग कहाँ र कहिले भयो छलफल? कहाँ भयो सहमति? कहिले,कसले गर्यो सहमति?१)प्रमज्यू, पूर्व प्रधानमन्त्रीज्यूहरूको…
— Gagan Thapa (@thapagk) November 14, 2023
प्रकाशित: २८ कार्तिक २०८०, मंगलवार