
काठमाडौं ।
सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएकोमा पछिल्लो समय विवाद निम्तिएको छ।
यसको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एक कार्यक्रममा स्पष्टिकरण नै दिए। उनले भक्तपुरमा नेपाल संवत् ११४४ का अवसरमा आयोजित कार्यक्रममा सबै दलको सहमतिमा सामाजिक सद्भाव र पारिवारिक एकता खलल हुनबाट बचाउन टिकटकमा प्रतिबन्ध लगाउनुपरेको बताएका छन्।
तर यस अभिव्यक्तिको बारेमा रास्वपाका सभापति रवि लामिछानेले आपत्ति जनाएका छन्। उनले प्रधानमन्त्रीको भनाई गलत र भ्रमपूर्ण भएको जिकिर गरेका छन्।
सभापति लामिछानेले एक्समा (पहिले ट्विटर) लेख्दै उनले टिकटक प्रतिबन्ध गर्ने बारेमा कुनै छलफल वा सहमति नभएको बताएका हुन्।
उनले एक्समा लेखेका छन्, “प्रधानमन्त्री ज्यु ले मेरै अगाडि आज एक कार्यक्रममा गलत तथा भ्रमपुर्ण अभिव्यक्ति दिनु भयो। टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता पक्षीय र विपक्षी सबै दलको सहमति र छलफल पछि निर्णयमा पुगेको बताउनु भयो। म लगायत रास्वपा का कुनै नेता सँग यस विषयमा कुनै औपचारिक अनौपचारिक छलफल वा सहमति भएको छैन। छदै छैन। प्रधानमन्त्री ज्युले यो गलत अभिव्यक्ति सच्याउनु हुने छ र कुन कुन दलले सहमति जनाएका हुन् भन्ने स्पष्ट पारिदिनु हुनेछ भन्ने विश्वास लिएको छु।”
प्रधानमन्त्री ज्यु ले मेरै अगाडि आज एक कार्यक्रममा गलत तथा भ्रमपुर्ण अभिव्यक्ति दिनु भयो। टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता पक्षीय र विपक्षी सबै दलको सहमति र छलफल पछि निर्णयमा पुगेको बताउनु भयो। म लगायत रास्वपा का कुनै नेता सँग यस विषयमा कुनै औपचारिक अनौपचारिक छलफल वा सहमति…
— Rabi Lamichhane (@hamrorabi) November 14, 2023
यसअघिनै सभापति लामिछानेले टिकटक बन्द गर्नुको साटो नियमन गरिनुपर्ने आफ्नो धारणा व्यक्त गरेका थिए।
प्रकाशित: २८ कार्तिक २०८०, मंगलवार