Technology Khabar २१ कार्तिक २०८०, मंगलवार
काठमाडौं ।
नेपालमा पहिलो पटक हाइड्रोजन इन्धनबाट चल्ने कार भित्रिएको छ। काठमाडौं विश्वविद्यालय (केयु)ले हाइड्रोजन इन्धनबाट चल्ने कार शनिबार नेपाल भित्र्याएको हो।
काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक डा. बिराट सिंह थापाका अनुसार ३३ हजार अमेरिकी डलरमा दक्षिण कोरियाली ब्रान्ड हुन्डाईको नेक्सो हाइड्रोजन कार खरिद गरि नेपाल ल्याइएको हो।
नेपाल आयात निगमले वित्तीय सहयोगमा हाइड्रोजन कार नेपाल ल्याइएको थापाले जानकारी दिए।
केयुले नेपाल भित्र्याएको हाइड्रोजन कारमा ९५ किलोवाट क्षमताको फ्यूल सेल छ। कारमा रहेको इलेक्ट्रिक मोटरले १२० किलोवाट (१६१ हर्सपावर) र ३९५ एनएम टर्क प्रदान गर्छ। हाइड्रोजन ट्यांक फूल भएको अवस्थामा कारले ६११ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ।
हाइड्रोजन इन्धनको व्यावसायिक प्रयोग र उत्पादनलाई सहयोग गर्न हुन्डाईको हाइड्रोजन कारको उपयोग गरिने थापाले बताए।
थापा विश्वविद्यालय अन्तर्गतको नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख समेत हुन्। यस परियोजनाले नेपालमा हाइड्रोजन इन्धनको सम्भाव्यक्ता र यसको प्रयोगको अध्ययन गर्दै आइरहेको छ।
‘यो कार अध्ययन अनुसन्धानका लागि ल्याइएको हो। यस कारमा विश्वविद्यालयले नै डिजाइन गरेको रिफिलिङ स्टेशन मार्फत इन्धन भरिने छ,’ उनले भने, ‘यसको स्पेसिफिकेसन, डिजाइन सबै विश्वविद्यालयले गरेको हो।’
विश्वविद्यालयले रिफिलिङ स्टेशनको डिजाइन तथा स्पेसिफिकेसन तयार पारे पनि एसेम्बल भने दक्षिण कोरियामा गरेको उनले जानकारी दिए।
नेपालमा एसेम्बल गर्दा गर्न गाह्रो हुन्छ भनेर दक्षिण कोरिया गएर आवश्यक पार्ट पूर्जा जोडिएको उनले बताए। विश्वविद्यालयले हाइड्रोजन कारको परीक्षण गर्न ५ किलोवाट क्षमताको रिफिङ सेन्टर प्रयोगमा ल्याउने छ।
हाइड्रोजन कार परीक्षणका लागि उपयोग गरिने भएकाले रिफिलिङ स्टेशन पनि विश्वविद्यालयमै राखिनेछ। हलको हाइड्रोजन कार परीक्षण प्रयोजनका लागि मात्र भएकाले सानो क्षमताको रिफिलिङ स्टेशन प्रयोग गरिने उनको भनाइ छ।
विश्वविद्यालयले स्थापना गर्ने रिफिलिङ स्टेशन मार्फत दैनिक १० देखि १५ हाइड्रोजन सवारीमा इन्धन भर्न सकिन्छ।
विश्वविद्यालयले व्यावसायिक प्रयोजनका लागि रिफिलिङ स्टेशनको पनि डिजाइन गरेको उनको दाबी छ।
‘व्यावसायिक रिफिलिङ स्टेशनको लागत महँगो पर्ने भएकाले परीक्षणका लागि कम क्षमताको प्रयोग गर्दै छौं। उक्त व्यावसायिक रिफिलिङ स्टेशनको डिजाइन पनि तयारी अवस्थामा छ, थापाले भने, ‘व्यावसायिक रुपमा हाइड्रोजन सवारी प्रयोग गर्न सकिने कानुन बनेमा उक्त डिजाइन प्रयोगमा ल्याउन सकिन्छ।’
कानुनका अभावका कारण नेपालमा व्यावसायिक रुपमा तत्काल हाइड्रोजन सवारी चलाउन सकिने अवस्था तत्काल भने निर्माण भइसकेको छ। तर विश्वविद्यालय भने अनुसन्धान प्रयोजनका लागि भनेर विशेष प्रक्रिया मार्फत हाइड्रोजन कार ल्याउन सफल भएको उनले जानकारी दिए।
व्यावसायिक प्रयोजनमा हाइड्रोजन सवारी प्रयोग गर्नका लागि यातायात व्यवस्था विभागले नम्बर प्लेट उपलब्ध गराउनु पर्छ। साथै विभागले सवारीमा प्रयोग हुने इन्धनको रुपमा हाइड्रोजनलाई वर्किकरण गर्नु पर्ने हुन्छ। हालसम्म यस्तो प्रावधान छैन।
साथै व्यावसायिक प्रयोजनका लागि भन्सारको प्रावधान पूरा गरेर ल्याउनु पर्ने हुन्छ। यसका लागि कुनै कानुनी व्यवस्था छैन। हाइड्रोजन इन्धनबाट सञ्चालन हुने भएकाले यसमा कस्तो कर लगाउने भन्ने नीति महत्वपूर्ण हुन्छ। त्यसैले प्राविधिक भन्दा पनि नीतिगत चुनौती धेरै रहेको उनको बुझाई छ। रिफिलिङ स्टेशन रेडिमेट नै आयात गर्न सकिने भएकाले प्राविधिक रुपमा कुनै समस्या छैन। रिफिलिङ स्टेशनमा विजुली र पानीको मद्दत बन्ने हाइड्रोजन ट्यांकमा रहन्छ।
भारत, अमेरिका, जापान, दक्षिण कोरिया, चीन लगायत देशमा हाइड्रोजन गाडीहरु व्यावसायिक रुपमा प्रयोगमा आईसकेकाले अब यो नौलो प्रविधिको रुपमा रहेको छैन।
सरकारले नीतिगत व्यवस्था मार्फत हाइड्रोजनबाट चल्ने गाडीको व्यावसायिक प्रयोग गर्न सकिने बाटो खुल्ला गरिदिए नेपालमा पनि सहज रुपमा चलाउन सकिन्छ।
व्यावसायिक हाइड्रोजन सवारीमा इन्धन भर्न सक्ने रिफिलिङ सेन्टरको डिजाइन पनि विश्वविद्यालयसँग तयारी अवस्थामा छ। तर, यदि अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड अन्तर्गतको रिफिलिङ स्टेशन चाहिने हो भने रकम तिरेर सहज रुपमा आयात गर्न सकिन्छ। हाइड्रोजन रिफिलिङ स्टेशन भनेको पार्ट पुर्जा जोडेर पेट्रोल पम्प राखे जस्तो हो।
अबको ग्रिन भेहिकल भनेको हाइड्रोजन इन्धनबाट चल्ने सवारी हुने भएकाले सरकारले कानुनी अड्चन फुक्का गरे व्यावसायिक रुपमा प्रयोगमा ल्याउन सकिने उनको दाबी छ।
प्रकाशित: २१ कार्तिक २०८०, मंगलवार